काठमाडौं । सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ को अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ ।
सभामा अध्यक्ष सोमनाथ अधिकारीले अस्पतालले दिने सेवालाई आगामि दिनमा विस्तार र स्तरोन्नति गरिने बताए । अस्पतालमा प्याथोलोजी र मृगौला डाइलासिस सेवाको योजना रहेको उनले बताए । सहिदका सम्मानित नाममा संचालित यस सहकारीले सहकारी क्षेत्रमा देखिएका केही विकृति, विसङ्गतीहरु हटाउदै समाज, राष्ट्र र शेयर सदस्यहरुप्रती उत्तरदायी रूपमा कार्य गर्ने प्रतिबद्धता उनले जनाए ।
अहिलेको आर्थिक मन्दी र विद्यमान सहकारी ऐन, नियम स्वास्थ्यसहकारी मैत्री नरहेको परिस्थितिमा काम गर्न सजिलो नभए पनि अप्ठ्यारासङ्ग जुधेर काम गर्न तयार रहेको उनले बताए ।
आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्ममा सहकारीमा शेयर पूँजी ३ करोड २ लाख ६ सय र सदस्य संख्या ४०३ जना रहेको छ । सामाजिक सेवाभावले स्थापित यस स्वास्थ्य सहकारीले हाल १०० शैयाको आधुनिक र सुविधा सम्पन्न सहिद मेमोरियल अस्पताल ( कलंकी ) र सहिद स्मारक जनस्वास्थ्य कलेज (सिफल) बाट स्वास्थ्यसम्बन्धि विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ।
संस्थाले वार्षिक रूपमा देशका विभिन्न ठाँउमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ। साधारणसभाले समिक्षा आर्थिक वर्षको वासलात, लेखा र सुपरिवेक्षण प्रतिवेदन, नाफानोक्सान हिसाब, नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।
कार्यक्रममा संस्थामा दिएको योगदानको कदरस्वरुप अस्पताल व्यवस्थापन समितिका सदस्यसचिव डा. दीपक श्रेष्ठ लगायत अस्पताल र सहकारीका कर्मचारीहरुलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij