२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण

नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण

 

काठमाडौँ ।  नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन् ।

अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुख प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत पुस २७ गते नेपाली चिकित्सकको टोलीले ४१ वर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको हो । त्यसपछि नेपालमै नेपाली चिकित्सकले कलेजोको प्रत्यारोपण गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ ।

“हामी नेपालमै कलेज प्रत्यारोपणमा सक्षम भएका छाँै । नेपालमै कलेजो प्रत्यारोपणका लागि यो ऐतिहासिक र कोसेढुङ्गा हो”, उनले भने, “यसअघि हामी विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गर्दै आइरहेका थियौँ ।” उनका अनुसार यसअघि अस्पतालमा कलेजो प्रत्यारोपण गर्न भारतीय चिकित्सकको सहयोग लिने गरिन्थ्यो । अस्पतालमा गरिएको यो कलेजो प्रत्यारोपण ११औँ सफल प्रयास हो ।

अस्पतालमा गत पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो । ती पुरुषलाई ४० वर्षे श्रीमतीले कलेजो दान गर्नुभएको थियो । चिकित्सक डा भण्डारीले दुवैको स्वास्थ्य राम्रो रहेको बताए ।

उनका अनुसार कलेजोको सफल प्रत्यारोपण गरेका बिरामी अहिले स्वस्थ्य भई आजै बिहान डिस्चार्ज भएका छन् । उनकी श्रीमती भने १० दिनमा डिस्चार्ज भएकी थिइन् ।

वरिष्ठ कलेजो रोग विशेषज्ञ डा भण्डारीले ५० जना चिकित्सकसहितको टोलीले करिब १२ घण्टामा ती पुरुषमा कलेजो प्रत्यारोपण गरिएको बताए । अस्पतालमा कलेजो प्रत्यारोपणका लागि  २५ देखि ३० लाख खर्च लाग्छ । विदेशमा भने कलेजो प्रत्यारोपण गर्न करिब  एक करोड लाग्छ ।

नेपालमा सरकारी त्रिवि शिक्षण अस्पताल र मानव अङ्ग प्रत्यारोषण केन्द्रमा कलेजो प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण केन्द्रमा सन् २०१६ र त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ बाट कलेजो प्रत्यारोषण सुरु गरिएको हो ।

नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण भएकोमा प्रधानमन्त्रीले बधाई दिएका छन् ।

उनले भनेका छन्, मलाई गर्व र खुसी छ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीबाट कलेजो प्रत्यारोपणको काम सम्पन्न भएको छ । प्रत्यारोपणमा सहभागी विशेषज्ञ प्रा डा रमेशसिंह भण्डारीसहितको शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङ टिम लगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij