२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सम्झनामा गायक योगेश वैद्य

सम्झनामा गायक योगेश वैद्य

काठमाडौँ ।‘सपना भुलाइ सारा’ गीतका गायक योगेश वैद्य अब सम्झनामा सीमित भएका छन्। शिव अधिकारीको शब्द र नातिकाजीको संगीत रहेको उक्त गीत २०४२ सालमा रेकर्ड भएको थियो। संगीतकर्मीले उनलाई अन्तिम श्रद्धाञ्जली दिँदै ‘सपना भुलाइ सारा’ गीत गाउँदै बिदाइ गरे। कालजयी गीत गाएका गायक वैद्यको बिदाइ कसैका लागि सहज थिएन।

उनी गायकसँगै कवि पनि थिए। वैद्यको निधनले सांगीतिक र साहित्य क्षेत्रमा अपूरणनीय क्षति पुगेको श्रद्धाञ्जली दिनेको भनाइ थियो। बाल्यकालमा आमाबाट नेवारी भाषाको सरस्वती बन्दना सुन्दै हुर्किएका गायक वैद्य त्यही समयमा गीतसंगीतप्रति आकर्षित भएका थिए। त्यसपछि बुबाले एक दिन घरमा रेडियो ल्याएपछि उनको संगीतसँग नाता झनै झाँगियो। उक्त रेडियोमा उनले नेपालीसँगै हिन्दी गीतलाई सुन्ने र बुझ्ने मौका पाएका थिए।

उनले रेडियो नेपालमा दिएको एक अन्तर्वार्तामा रेडियोलाई साथीका रूपमा चित्रण गरेका छन्। २०१४ सालमा चीनका प्रधानमन्त्री चाउ एन लाई नेपाल भ्रमणमा आएका बेला शान्ति निकुञ्ज सहविद्यालय पुगेका थिए।

त्यहाँ आयोजित सांस्कृतिक कार्यक्रममा गायक वैद्यले गीत गाएका थिए। विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुँदै गीतसंगीतसँग नजिकिँदै गायक वैद्यले रेडियो नेपालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा पहिलो गीत ‘कति प्यासी छ जिन्दगी…’ रेकर्ड गरेका थिए।

उनलाई चिनाउने गीत ‘सपना भुलाइ सारा’ बनेको गायक तथा संगीतकार टीका भण्डारीले बताए। वैद्यले आफूलाई सुहाउने भन्दै संगीतकार नातिकाजीसँग उक्त गीत मागेको उनले जानकारी दिए।

‘एक दिन गायक वैद्य नातिकाजीको कोठामा पुग्नुभएछ। त्यहाँ टेबलमा पहिलोपटक उक्त गीत देख्नुभयो। त्यसपछि उहाँले मलाई यो गीत मन पर्‍यो नातिदाइ, म गाउँछु भन्नुभएछ। त्यसपछि उहाँले स्टुडियोमा अभ्यास गरेर गीत गाउनुभएको हो’, गायक भण्डारीले भने।

उनले गायक वैद्यले व्यावसायिक रुपमा गीत गाएको सम्झना नभएको समेत बताए। ‘उहाँले गीत गाएर पैसा लिएको सम्झना छैन। उहाँले श्रोताको मन छुने गीतमार्फत आफूलाई प्रस्तुत गर्नुभयो,’ भण्डारीले भने, ‘वैद्य गीत र शब्द चिन्न सक्ने गायक हुनुहुन्थ्यो। उहाँ धेरै गीत गाउने गायक होइन। थोरै गीतलाई पाँचदेखि छ महिनासम्म अभ्यास गरेर गाउने गर्नुहुन्थ्यो।’

गायक तथा संगीतकार शम्भुजित बाँस्कोटाले गायक वैद्य मखमली आवाजका धनी रहेको बताए। ‘उहाँसँगको सामीप्यतालाई भन्ने शब्द छैन। तीन दिनअगाडि मात्र कुराकानी भएको थियो। उहाँले मेरो संगीतमा पार्श्वगायन पनि गर्नुभएको छ’, उनले भने।

उनको आवाजको प्रभावमा आफूलाई काठमाडौँसम्म ल्याएको संगीतकार तथा गायक चेतन सापकोटाले बताए। ‘उहाँको आवाजको जादुले कलामा लाग्न प्रेरित गर्ने धेरै युवा छन्। उनको गीतसंगीतलाई मैले शब्दमा व्यक्त गर्न सक्दिनँ,’ संगीतकार सापकोटाले भने।

गायक कर्णराज गिरीले उनको गीत महोत्सवमा गाएको स्मरण गरे। ‘उहाँसँग मेरो प्रत्यक्ष भेटघाट कमै रह्यो। त्यस्तो धेरै नजिक पनि होइन तर उहाँको गीतले हामी जस्तालाई गायक बन्ने सपना देखाउनाका साथै चिनाएको पनि छ’, उनले भने,‘आफ्नै परिचय नहुँदा उहाँकै गीत गाएर मेला महोत्सवमा परिचय बनाएको हुँ। उहाँको गायन प्रभावले मलाई गायनमा लाग्न प्रत्यक्ष रुपमा सहयोग गरेको छ।’

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन्।

उनको गीति कवितासङ्ग्रह ‘समय प्रवाहमा छुटेका पलहरू’ प्रकाशित छ। २००३ असार २४ गते काठमाडौँको नरदेवीमा जन्मिएका गायक वैद्यका श्रीमती, दुई छोरी र एक छोरा छन्।

करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाका गीतमा स्वर दिएका वैद्य पछिल्लो समय पक्षघातसम्बन्धी समस्या झेलिरहेका थिए।

गायक वैद्यको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए। ७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो।

उनको ‘नेपाल मेरो तिमीलाई’, ‘चोट दिलमै रातदिन’, ‘आँखैमा रात’, ‘यो लामो जीवनमा किन म हतासहतास छु’ लगायत गीत कालजयी छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij