२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

हजारौं रोजगारी र अर्बौ राजस्व दिनेलाई सम्मान गर्न सिकौं

हजारौं रोजगारी र अर्बौ राजस्व दिनेलाई सम्मान गर्न सिकौं

झरना अधिकारी – हालै एक समाचारले मेरो ध्यान खिच्यो । नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरी नेतृत्वको सीजी ग्रुपले ५ वर्षमा ७० अर्ब राजस्व तिरेको रहेछ । नेपालमा चौधरीले तिर्ने करको कुरा सधै चासोको विषय बन्दै आइरहेको छ । जबकी उनका कम्पनीहरुले बितेको ५ वर्षयता तिरेको करको फेहरिस्त नै सार्वजनिक गरिदिएका छन् । हरेक वर्ष बढी कर तिर्नेहरुको सूची सार्वजनिक हुँदा चौधरीको नाम देखिदैनथ्यो । धेरैले सबैभन्दा धनी व्यक्ति भएरपनि सबैभन्दा बढी कर चै किन नतिरेको होलान् भनेर प्रश्न गरेको पाउथे । सामाजिक सञ्जालहरुमा उठेका यी प्रश्नहरु मेरो मस्तिष्कमा पनि नआएका होइनन् । यतिबेला भने म प्रष्ट भएको छु । नेपालको करप्रणालीले धेरै कर तिर्नेलाई पनि कसरी बदनाम गरिदिदो रहेछ ।

हामी सबैलाई थाहा छ चौधरी ग्रुप भन्नेबित्तिकै त्यसअन्तर्गत धेरै कम्पनीहरु छन् । जस्तोकी वाइवाइ जस्तो विश्वचर्चित चाउचाउ उत्पादन गर्ने सीजी फुड छ । विद्युतीय सामाग्रीहरुको उत्पादन गर्ने इलेक्ट्रोनिक्स छ । पेय पदार्थ सीजी बेभरेजले उत्पादन गर्छ भने वियर उत्पादन सीजी बु्रअरीले गर्छ । त्यसबाहेक सीजी हिल्स, सीजी हाइड्रोपावर, सीजी इम्पेक्स, सीजी ल्याण्डमार्क, सीजी मोबाइल, सीजी टोबाको लगायतका दर्जनौ कम्पनीहरु चौधरी ग्रुप अन्तर्गत सञ्चालन भइरहेका छन् । नेपालमा फरक प्रकृतिको काम गर्न अलग कम्पनी खडा गर्नुपर्ने र त्यसको राजस्व संकलन गर्न अलग भ्याट नम्बर हुने गर्छ । त्यसैले सीजी ग्रुपका पनि सञ्चालित कम्पनीहरुले अलग अलग रुपमा राज्यलाई कर तिर्दै आएका रहेछन् । एउटै मातृसंस्था अन्तर्गतका कम्पनीहरुले तिरेको करको सामूहिक लेखा राख्ने प्रणाली विकसित नभएका कारण सीजीले सधै सर्वाधिक कर तिरेपनि विवाद हुँदै आएको रहेछ । विश्वका धेरै सफल राष्ट्रहरुमा सरकारीस्तरबाटै व्यवसायीले आफ्ना सम्पूर्ण व्यवसायमार्फत तिरेको करको एकीकृत विवरण सार्वजनिक गर्ने गरिन्छ । जसले गर्दा करदाताप्रति राज्य र नागरिक दुवैको सम्मान यथेष्ट हुन्छ ।

एक अन्तर्वार्तामा विनोद चौधरी आफैले आफ्ना व्यवसायहरुले तिरेको करको विवरण हरेक वर्ष सावर्जनिक गर्ने गरेको र मुलुकको कुल राजस्वमा सीजीको योगदान करिब २ प्रतिशत रहेको बताएका छन् । हालै सीजी ग्रुपले सार्वजनिक गरेको तथ्यांकमा गत आर्थिक वर्षमा मात्रै उसले १६ अर्ब १४ करोड राजस्व तिरेको छ । बितेको ५ वर्षमा सीजीले तिरेको कुल राजस्व ७० अर्ब हुन आउँछ । मुलुकको अर्थतन्त्रमा गम्भीर समस्याहरु देखिदापनि सीजीले अर्बाै राजस्व तिरिरहेको तथ्यले केही भएपनि आशा दिलाएको छ । सीजीमात्रै होइन निजी क्षेत्रका सबै संस्थाहरु जसले मुलुकमा रोजगारी सिर्जना गरेका छन्, कर तिरेका छन् उनीहरुको यथोचित सम्मान हुनुपर्छ ।

हालै अर्को एक तथ्यांक पनि सार्वजनिक भएको छ । गत पुस महिनामा मात्रै ६५ हजारभन्दा बढी नेपालीले देश छाडेका छन् । उनीहरुमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि विदेशिएका हुन् भने स्थायी रुपमा देश छाड्नेको संख्या पनि उल्लेख्य नै छ । सन् २०२३ मा मात्रै ७० हजार ९ सय १५ जनाले औपचारिक रुपमा नेपाल छाडेको घोषण गरि विदेशीएको अर्को डरलाग्दो तथ्यांक छ । हरेक वर्ष हजारौ नेपालीले स्थायी रुपमै देश छाड्ने, लाखौंले रोजगारीका लागि देश छाड्ने अनि देशमै बसेर केही गर्नेहरुको उछितो काढ्ने काम आखिर कैलेसम्म ? नेपालमा सानोभन्दा सानो व्यवसाय र नोकरी गर्नेदेखि विनोद चौधरीसम्मका खर्बपतिहरुले वर्षेनी तिरेको कर के सामाजिक सञ्जालमा गाली खानकै लागि हो ? यो आर्थिक वर्षदेखि सरकारले व्यक्तिगत आयकरपनि बढाएको छ । आकर्षक कमाई हुने रोजगारीमा रहेकाहरुले तिर्ने करको दर यति बढाइएको छ की प्राविधिक क्षेत्रका जनशक्तिले देश छाड्ने क्रम बढ्दो छ । एकातिर चर्को कर तिर्नुपर्ने अर्कोतिर कर तिरेवापत हुने सुविधा केही नपाउने । यस्तो अवस्थामा हरेक करदाताको स्वाभिमानमा चोट पुगेको छ । नेपालमा सार्वजनिक क्षेत्रमा भएको भ्रष्टाचारलाई रोक्ने हो भने मात्रै अर्बौ रकम जोगिने निश्चित छ । तर देश डुबाउने भ्रष्ट अनि बैंक र सहकारी डुबाउने स्टन्टबाजहरुलाई ताली दिने अनि रोजगारी र राजस्व सिर्जना गर्नेलाई गाली दिने संस्कारले नेपाललाई अझै बर्बादीतर्फ लैजाने देखिन्छ ।

प्रसंग नीजि क्षेत्रकै हो । सबै काम सरकारले गर्न नसक्ने भएकैले नेपालमा खुला बजार अर्थतन्त्रको जगमा नीजि क्षेत्रलाई भूमिका दिइएको हो । नीजि क्षेत्रले सिर्जना गरेको रोजगारी, योगदान गरेको राजस्व र राष्ट्रिय स्वाभिमान निर्माणमा पुर्याएको योगदानको उचित कदर भएको पाइदैन । फोब्र्सको सूचीमा सूचीकृत भएर विश्वभर नेपालको प्रतिनिधित्व गरेका विनोद चौधरीजस्ता उद्यमीले त वर्षेनी अर्बौ कर तिर्दासमेत राज्यका निकाय र सुनियोजित समूहहरुबाट प्रहार खेप्नुपर्छ भने आम युवाहरुको अवस्था कस्तो होला ? त्यसैले देश बनाउने हो भने कम्तीमा कर्मशीलहरुलाई सम्मान गरौं । आफ्नै बुताले १५ हजार बढीको रोजगारी सिर्जना गर्ने विनोद चौधरीहरुप्रति सकरात्मक दृष्टिकोण बनाउने दायित्व राज्यको हो । विनोद चौधरीको प्रसंग एक प्रतिनिधि पात्रका रुपमा गरिएको हो । राज्यलाई काम र कर दुवैले योगदान गर्नेलाई सम्मान गर्न सिकौ । मुलुक बन्न समय लाग्दैन । हामीजस्ता अवसरको खोजीमा बाहिरिएकाहरु पनि तब आफ्नै देशमा फर्किएर स्वाभिमानका साथ उद्यम गर्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij