काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परिसरमै आक्रमणमा परेका उपप्रध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने सरकारको निर्णयबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिएका छन्।
बुधबार राति एक टक शोमा अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन्। उनले उपप्रध्यापक चलाउने स्वस्थ भएकाले सहज रूपमा समाधान गरौँ भनेर मुद्दा फिर्ता लिइएको बताए। मुद्दा फिर्ता लिन कसैले दबाब पनि नदिएको उनको भनाइ थियो।
‘डेढ/दुई वर्ष अगाडिको कुरा रहेछ, पहिला पनि यो विषयमा छलफल चलिराखेको स्थिति रहेछ। प्रस्ताव आउँदा पुरानो पनि भएछ,’ उनले भनेका छन्, ‘प्रेम चलाउने अहिले स्वस्थ हुनुहुन्छ। एउटा कुटपिटको घटना हो कति जेल बस्ने भन्ने भयो। त्यसो भए सहज रूपले यसलाई समाधान गरौँ भन्यौँ।’
चलाउनेमाथि २०७७ असोज २० गते कांग्रेस भ्रातृसंगठन नेविसंघ त्रिविका इकाइ अध्यक्ष हरि आचार्यको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको थियो।
उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेसी तोकिएको थियो। तर गत जेठ ३० गतेको मन्त्रिपरिषद्को बैठकले उक्त मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो।
सरकारले मुद्दा फिर्ता लिएपछि सोमबार चलाउने जिल्ला अदालत काठमाडौं परिसरमै अनशन बस्दा प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो। त्यसपछि उनी त्रिभुवन विश्वविद्यालय परिसरमा अनशनरत छन्।
अनशनरत चलाउनेसँग सरकारले वार्ता गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन्।
उनले मंगलबार मात्रै पनि मन्त्रिपरिषद्मा पुन: उक्त विषयमाथि छलफल भएको जानकारी दिए। चलाउने अनशन बसेपछि गम्भीर बहस भएको बताउँदै उनले सरकारको तर्फबाट चलाउनेसँग छलफल गर्ने बताए।
‘उहाँ अनशन बसेपछि हिजो मात्रै क्याबिनेटमा गम्भीर बहस भएको छ। सरकारको तर्फबाट प्रेम चलाउनेसँग पनि छलफल गर्ने सोचाइ छ,’ उनले भने, ‘कुटपिट जायज होइन भन्नेमा सरकार प्रष्ट छ। यो विषयप्रति संवेदनशील छौँ। गम्भीर छौँ। समझदारीका साथ समाधान गर्नेतिर लाग्छौँ।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij