काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका युवा उद्यमी किरण केसीले उम्मेदवारी दर्तापछि आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। उम्मेदवारी दर्ता र बिहीबार दिनभर प्रतिनिधिहरूसँगको भेटघाट तथा प्रचार गतिविधिलाई हेर्दा केसीको प्रभाव विस्तार हुँदै गएको देखिएको छ।
कास्की–२ बाट महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका केसी अहिले खुला केन्द्रीय सदस्यतर्फ प्रतिस्पर्धामा छन्। जलविद्युत्, बैंकिङ, बीमा, निर्माण तथा हस्पिटालिटी क्षेत्रमा लामो व्यावसायिक अनुभव बोकेका केसीले निजी क्षेत्रको अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्ने एजेन्डासहित उम्मेदवारी दिएका हुन्।
युवामाझ आकर्षण, उद्यमीको पहिचान
केसीको चुनावी अभियानमा युवा पुस्तासँगको संवादलाई विशेष प्राथमिकता दिइएको छ। राजनीति र उद्यमशीलतालाई जोड्ने, युवाका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने तथा निजी क्षेत्रमैत्री नीति निर्माणमा भूमिका खेल्ने विषयलाई उनले आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
व्यवसायिक क्षेत्रमा लामो समय काम गरेका कारण केसीको पहिचान परम्परागत राजनीतिक घेराभन्दा बाहिर पनि बनेको छ। यही कारण कांग्रेसका युवा प्रतिनिधिहरूमाझ उनको उम्मेदवारीले चासो बढाएको देखिन्छ। केसीले पार्टीमा अनुभवी पुस्ताको राजनीतिक अनुभवसँग नयाँ पुस्ताको ऊर्जा र व्यावसायिक सोचलाई जोड्नुपर्ने धारणा राख्दै आएका छन्।
राजनीतिक पारिवारिक पृष्ठभूमिको पनि प्रभाव
किरण केसीको अर्को बलियो पक्ष उनको राजनीतिक पारिवारिक पृष्ठभूमि हो। उनका पिता स्वर्गीय सूर्यबहादुर केसी पोखराका प्रतिष्ठित उद्योगी तथा पूर्व संविधानसभा सदस्य एवं सांसद थिए। पोखराको सामाजिक तथा सार्वजनिक जीवनमा लामो समय सक्रिय सूर्यबहादुर केसीको आफ्नै राजनीतिक परिचय थियो।
त्यसको प्रभाव अहिले किरणको चुनावी अभियानमा पनि देखिएको कांग्रेस वृत्तमा चर्चा छ। युवामाझ उद्यमी र नयाँ पुस्ताको प्रतिनिधिका रूपमा बनेको पहिचानसँगै पुराना कांग्रेस मतदातासँगको पारिवारिक सम्बन्ध र सामाजिक परिचयले पनि उनलाई सहजता दिएको देखिन्छ।
खुला प्रतिस्पर्धामा बलियो चर्चा
खुला केन्द्रीय सदस्यतर्फ देशभरबाट उम्मेदवारहरू मैदानमा रहेका बेला किरण केसीले छोटो समयमै प्रतिनिधिहरूसँगको सम्पर्कलाई तीव्र बनाएका छन्। उम्मेदवारी दर्तापछिको भेटघाटमा देखिएको सक्रियता र प्रतिनिधिहरूसँगको संवादले उनको चुनावी अभियानलाई थप गतिशील बनाएको छ।
युवा पुस्तामा लोकप्रियता, उद्यमी तथा बौद्धिक व्यक्तित्वको पहिचान र राजनीतिक पारिवारिक पृष्ठभूमि उनका प्रमुख आधारका रूपमा देखिएका छन्। यही आधारमा बिहीबारसम्मको चुनावी प्रचारको समीक्षा गर्दा कांग्रेस प्रतिनिधिहरूको एउटा हिस्सामा केसीलाई खुला केन्द्रीय सदस्यतर्फ सम्भावना बोकेका उम्मेदवारका रूपमा हेर्न थालिएको छ उम्मेदवारी दर्तापछि एकै दिनमा देखिएको चुनावी सक्रियता र प्रतिनिधिसँगको सम्पर्कका आधारमा खुला केन्द्रीय सदस्यतर्फ किरण केसीको चर्चा उल्लेख्य रूपमा बढेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij