२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई सहयोग जुटाउँदै नेजा

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई सहयोग जुटाउँदै नेजा

टेक्सस । वरिष्ठ पत्रकार तथा गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक स्वर्गीय बसन्तप्रकाश उपाध्यायको परिवारलाई आर्थिक सहयोग पुर्‍याउन नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अभियान थालेको छ।

५८ वर्षको उमेरमा उपाध्यायको निधन भएपछि परिवार आर्थिक कठिनाइमा परेको भन्दै नेजाले GoFundMe मार्फत करिब २० हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ। नेजाका महासचिव ईश्वरीप्रसाद न्यौपानेका अनुसार अभियान सुरु भएको एक सातामै ५ हजार अमेरिकी डलरभन्दा बढी रकम जुटिसकेको छ।

भानु नगरपालिका, तनहुँ अन्तर्राष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र अमेरिकामा रहेका उपाध्यायका आफन्तहरूको आग्रहपछि नेजाले सहयोग अभियान अघि बढाएको हो।

उपाध्यायको परिवारमा ९४ वर्षीय पिता, स्वास्थ्य समस्या देखिएपछि उपचार गराइरहेकी श्रीमती तथा उच्च शिक्षाको प्रारम्भिक चरणमा रहेका एक छोरा र एक छोरी छन्। परिवारको प्रमुख आम्दानीको स्रोत गुमेपछि दैनिक खर्च, श्रीमतीको उपचार र छोराछोरीको शिक्षालाई निरन्तरता दिन चुनौती थपिएको नेजाले जनाएको छ।

विशेषगरी वृद्ध पिताको हेरचाह, श्रीमतीको उपचार तथा सन्तानको शिक्षा र भविष्यका लागि आवश्यक खर्च व्यवस्थापन परिवारका लागि कठिन बनेको बताइएको छ। यही अवस्थालाई मध्यनजर गर्दै नेजाले आर्थिक सहायता जुटाउने अभियान सञ्चालन गरेको हो।

संघले उपाध्यायको परिवारलाई सहयोग गर्न इच्छुक नेपाली समुदाय, आफन्त, साथीभाइ तथा शुभेच्छुकलाई आफ्नो सामर्थ्यअनुसार योगदान गर्न आग्रह गरेको छ। अभियानलाई सामाजिक सञ्जालमार्फत व्यापक बनाउँदै थप सहयोग जुटाउन समेत नेजाले समुदायसँग अपिल गरेको छ।

उपाध्यायको परिवारलाई आर्थिक सहयोग गर्न चाहनेले नेजाले सञ्चालन गरेको GoFundMe अभियानमार्फत योगदान गर्न सक्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij