इलाम । पूर्वी पहाडको मुख्य जीवनरेखा मानिएको मेची राजमार्ग महिना दिनदेखि अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ। विशेषगरी माईखोला–राजदुवाली खण्डमा निरन्तर खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङ आवतजावत प्रभावित भएको छ।
लगातार वर्षासँगै झरेका पहिरो र सडक भासिने समस्या दोहोरिँदै गएपछि राजमार्ग सञ्चालनमा आउन सकेको छैन। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत गम्भीर असर परेको छ। एम्बुलेन्स जस्ता अत्यावश्यक सेवा समेत प्रभावित हुँदा बिरामीहरू जोखिमपूर्ण अवस्थामा यात्रा गर्न बाध्य भएका छन्।
स्थानीयवासीका अनुसार वैकल्पिक मार्गको उचित व्यवस्था नहुँदा समस्या झन् जटिल बनेको छ। ‘सामान्य अवस्थामा पनि हिँडेरै पहिरो पार गर्नुपर्छ, बिरामी वा रातको समयमा त झन् समस्या झन् बढ्छ, ’ स्थानीय इस्वरलाल चिपालुले भने ।
सडक डिभिजन कार्यालय इलामले पहिरो पन्छाउने काम भइरहेको जनाएको भए पनि निरन्तर वर्षा र कमजोर भौगोलिक संरचनाका कारण काममा ढिलाइ भइरहेको छ। सम्बन्धित निकायले दीर्घकालीन समाधानतर्फ ध्यान नदिँदा हरेक वर्ष यस्तै समस्या दोहोरिने गरेको गुनासो बढ्दो छ।
मेची राजमार्ग लामो समयसम्म बन्द हुँदा पूर्वी पहाडको आर्थिक गतिविधि समेत प्रभावित बनेको छ। स्थानीय व्यवसायीहरूका अनुसार ढुवानी ठप्प हुँदा बजारमा सामान अभाव र मूल्य वृद्धि हुन थालेको छ।
सरकार र सम्बन्धित निकायले तत्काल वैकल्पिक मार्ग, स्थायी पुल तथा दीर्घकालीन संरचना निर्माणतर्फ ध्यान दिनुपर्ने माग स्थानीयले गरेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij