पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोपछि सम्पर्कविहीन भएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्तर्राष्ट्रिय आरोहण टोलीको खोज तथा उद्धार अभियानमा नेपालबाट अनुभवी हेलिकोप्टर पाइलट परिचालन गर्ने योजना अन्तिम समयमा स्थगित भएको छ।s
उच्च हिमाली उद्धारमा दक्ष मानिएका सिम्रिक एयरका क्याप्टेन सुरेन्द्र पौडेल उद्धार टोलीसँग पाकिस्तान जाने तयारीमा थिए। उद्धारका लागि आवश्यक लङ लाइन तथा विशेष उपकरणसमेत तयार गरिए पनि आवश्यक सरकारी अनुमति, कूटनीतिक समन्वय र सैन्य स्वीकृति समयमै प्राप्त हुन नसक्दा उनको यात्रा रोकिएको हो।
सिम्रिक एयरका महाप्रबन्धक तथा वायुसेवा सञ्चालक संघका महासचिव मुरलीधर जोशीका अनुसार प्रारम्भिक रूपमा क्याप्टेन पौडेललाई उद्धार टोलीसँगै पाकिस्तान पठाउने योजना बनाइएको थियो। तर पाकिस्तानमा उद्धार अभियान सेनाको नेतृत्वमा सञ्चालन भइरहेकाले औपचारिक समन्वयबिना विदेशी पाइलट परिचालन गर्नु उपयुक्त नहुने निष्कर्षपछि उक्त योजना स्थगित गरिएको उनले बताए।
निर्मल पुर्जा आफ्नै नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय आरोहण टोलीसँग ८,०४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा क्याम्प–२ र क्याम्प–३ बीचको क्षेत्रमा अघि बढिरहेका बेला हिमपहिरोमा परेका थिए। त्यसपछि टोलीसँग सम्पर्क विच्छेद भएको हो। खराब मौसम, कठिन भूगोल र उच्च हिमाली जोखिमका बीच पाकिस्तानी सेना तथा उद्धार टोलीले हेलिकोप्टर र स्थलमार्गबाट खोज तथा उद्धार अभियान जारी राखेका छन्। प्रारम्भिक खोजीका क्रममा केही शव फेला परे पनि सबैको आधिकारिक पहिचान सार्वजनिक भइसकेको छैन।
विश्व पर्वतारोहण क्षेत्रमा विशेष पहिचान बनाएका निर्मल पुर्जाले सन् २०१९ मा विश्वका १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमाल केवल १८९ दिनमै आरोहण गरेर ऐतिहासिक विश्व कीर्तिमान कायम गरेका थिए। त्यसयता उनी विश्वका कठिन हिमालहरूमा साहसिक आरोहण र उद्धार अभियानमा सक्रिय रहँदै आएका छन्।
जोशीका अनुसार नेपालका हेलिकोप्टर पाइलटहरू उच्च हिमाली उद्धारमा विश्वस्तरमै दक्ष मानिन्छन्। आवश्यक अनुमति र समन्वय समयमै प्राप्त भएको भए नेपाली जनशक्ति मात्र होइन, आवश्यक परे नेपाली हेलिकोप्टरसमेत उद्धार अभियानमा परिचालन गर्न सकिने अवस्था रहेको उनले बताए।
क्याप्टेन सुरेन्द्र पौडेलसँग ८,५०० घण्टाभन्दा बढी उडान अनुभव रहेको छ। नेपाली सेनामा लामो समय सेवा गरेपछि उनी सन् २०१० देखि सिम्रिक एयरमा कार्यरत छन्। उनले मनास्लु र सगरमाथामा भएका ठूला उद्धार अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै स्विट्जरल्यान्ड र अमेरिकाबाट उच्च हिमाली हेलिकोप्टर उद्धारसम्बन्धी विशेष तालिम प्राप्त गरेका छन्।
यसैबीच, प्रतिनिधिसभा सदस्य तथा निर्मल पुर्जाका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड) सहित उद्धार समन्वयमा संलग्न टोली भने पाकिस्तान पुगेर उद्धार प्रयासमा समन्वय गरिरहेको जनाइएको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय हिमाली उद्धार अभियानमा प्राविधिक दक्षतासँगै सम्बन्धित देशहरूबीच प्रभावकारी कूटनीतिक, प्रशासनिक तथा सैन्य समन्वय हुनु सफल उद्धारका लागि अत्यन्त आवश्यक मानिन्छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij