बाजुरा। अविरल वर्षापछि बाजुराको बडिमालिका नगरपालिका–९ स्थित सेलागाड खोला र बाउली खोलाको दोभान नजिकबाट आएको बाढी बस्तीमा पसेपछि १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार बिहीबार राति नै जोखिममा परेका परिवारको उद्धार गरी घरका आवश्यक सामानसहित सुरक्षित स्थानमा लगिएको हो। तत्कालका लागि उनीहरूलाई नजिकै सुरक्षित अवस्थामा रहेका स्थानीयको घरमा राखिएको डीएसपी बोहराले जानकारी दिइन्।
प्रहरीका अनुसार उद्धार गरिएका १३ परिवारमध्ये तीन घर अझै पनि बाढीको उच्च जोखिममा रहेका छन्। त्यस क्षेत्रमा वर्षा जारी रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ भने सुरक्षा निकायले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।
यसअघि जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार बाजुराका १०० भन्दा बढी गाउँ बाढी र पहिरोको उच्च जोखिममा रहेका छन्।
यता, निरन्तर वर्षासँगै खसेको पहिरोका कारण जिल्लाका दुई स्थानमा सडकसमेत अवरुद्ध भएको छ। बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार पछाडिको क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरीले जनाएको छ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय र सुरक्षाकर्मी परिचालन भई काम भइरहेको प्रहरीले जनाएको छ। वर्षा जारी रहेकाले नदी तथा खोलानाला आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij