काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ को २३औँ संस्करण आगामी भदौ १८ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार पत्रकार सम्मेलन गर्दै प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको ‘द ब्लु प्याभिलियन’मा अवार्ड आयोजना गरिने जनाएको हो । गत संस्करण पहिलोपटक उपत्यकाबाहिर पोखरामा सम्पन्न भएको थियो ।
अवार्डका लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँगको सहकार्यलाई निरन्तरता दिएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ४५ लाख रुपैयाँ बराबरको प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे । गोल्छा ग्रुप लगातार १९औँ वर्ष अवार्डसँग आबद्ध छ । दुवै पक्षबीच गत वर्ष पाँच वर्षका लागि सम्झौता नवीकरण भएको थियो ।
हस्ताक्षरपछि गोल्छाले अवार्डसँग निरन्तर सहकार्य गर्न पाउँदा गौरव लागेको बताउँदै यस वर्ष विभिन्न विधाका विजेतालाई कुल १७ लाख रुपैयाँ नगद र पाँच वटा बजाज मोटरसाइकल प्रदान गरिने जानकारी दिए ।
अधिकारीले अवार्ड समग्र नेपाली खेलकुद समुदायको साझा सम्मान भएको उल्लेख गर्दै यसको निष्पक्ष, व्यवस्थित र भव्य आयोजनाका लागि मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरी तयारी अघि बढाइएको बताए ।
मञ्चका महासचिव अन्जन खड्काका अनुसार यस वर्ष वर्ष खेलाडी (पुरुष), वर्ष खेलाडी (महिला), वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी ९ विधामा सम्मान प्रदान गरिनेछ ।
वर्ष खेलाडी (पुरुष), वर्ष खेलाडी (महिला), वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ । प्रत्येक विधामा पाँच जना अन्तिम मनोनयनमा रहनेछन् । पिपल्स च्वाइस विधाको विजेता सार्वजनिक मतका आधारमा छनोट हुनेछ । पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले एक–एक थान बजाज मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका सम्मानितलाई नगदसहित सम्मान गरिनेछ ।
गत वर्ष क्रिकेटका दीपेन्द्रसिंह ऐरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट महिला खेलाडी, क्रिकेटकी पूजा महतो वर्ष उत्कृष्ट युवा खेलाडी, पारा तेक्वान्दोका कविराज नेगी लामा वर्ष उत्कृष्ट प्रशिक्षक तथा भलिबलका हिमाल सुनारी पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएका थिए ।
स्पेसल अवार्डबाट तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङ्देम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन तथा लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij