अस्टिन, टेक्सास
समाना देवकोटा
अमेरिकाको न्यूयोर्कस्थित क्वीन्स, ज्याक्सन हाइट्समा सञ्चालित नेपाली रेस्टुरेन्ट ‘नेपाली भान्छा घर’ प्रतिष्ठित न्यूयोर्क टाइम्सको सन् २०२६ को उत्कृष्ट १०० रेस्टुरेन्टको सूची मा पर्न सफल भएको छ। यो उपलब्धिसँगै नेपाली स्वाद र परिकारले अन्तर्राष्ट्रिय मञ्चमा अर्को महत्वपूर्ण पहिचान बनाएको छ।
नेपाली महिला उद्यमी बिमला हमाल (यमुना) श्रेष्ठ द्वारा सञ्चालन हुँदै आएको ‘नेपाली भान्छा घर’ ले नेपाली परिकारको मौलिक स्वाद र गुणस्तरमार्फत विश्वस्तरमा आफ्नो अलग पहिचान स्थापित गरेको हो। रेस्टुरेन्टले विशेषगरी नेपाली खाना सेट, थाली, ढिँडो, मःमः, चाउमिन लगायतका परम्परागत परिकार प्रस्तुत गर्दै स्थानीयदेखि विदेशी ग्राहकसम्म आकर्षित गर्न सफल भएको छ।
यस उपलब्धिपछि सञ्चालक बिमला हमालले आफू अत्यन्त खुशी र गर्वित भएको प्रतिक्रिया दिएकी छन्। ग्राहकहरूबाट फोन तथा सन्देशमार्फत बधाई आउन थालेपछि मात्रै आफूलाई यो सफलताबारे जानकारी भएको उनले बताएकी छन्।
न्यूयोर्क टाइम्सको उत्कृष्ट सूचीमा पर्नु केवल व्यवसायिक उपलब्धि मात्र नभई नेपाली परिकार, संस्कृति र आप्रवासी नेपाली समुदायको संघर्ष र मेहनतको सम्मानका रूपमा समेत हेरिएको छ। यसै क्रममा न्यूयोर्क स्टेटकी सिनेटर जेसिका रामोस ले विशेष प्रोक्लेमेशन प्रदान गर्दै बिमला हमाल र उनको टोलीलाई सम्मान तथा बधाई दिएकी थिइन्।
स्याङ्जा स्थायी घर भएकी बिमला हमाल सन् २००८ मा अमेरिका पुगेकी थिइन्। लामो संघर्ष, मेहनत र निरन्तर लगनशीलतापछि उनले सन् २०१५ मा ज्याक्सन हाइट्समा आफ्नै रेस्टुरेन्ट सुरु गरेकी हुन्। आज बिहानदेखि रातिसम्म ग्राहक सेवामा समर्पित उनको मेहनतले नेपाली स्वादलाई विश्व बजारसम्म पुर्याउने महत्वपूर्ण भूमिका खेलेको छ।
न्यूयोर्क सिटीको चर्चित मःमः क्रल मा ‘नेपाली भान्छा घर’ ले पाँच पटकसम्म उपाधि जितिसकेको छ। साथै, यस सफलताले नेपाली डायस्पोरामा खुशीको लहर ल्याएको छ। नेपाली महावाणिज्यदूतावास न्यूयोर्कसहित विभिन्न सामाजिक, व्यावसायिक तथा सांस्कृतिक संस्थाहरूले बिमला हमाल र उनको टोलीलाई बधाई तथा शुभकामना दिएका छन्।
नेपाली महिलाको आत्मविश्वास, संघर्ष र परिश्रमको प्रतिफलस्वरूप ‘नेपाली भान्छा घर’ को यो उपलब्धि आज नेपाली समुदायका लागि गर्व र प्रेरणाको विषय बनेको छ। न्यूयोर्कजस्तो विश्वव्यापी सहरमा नेपाली स्वाद र पहिचानलाई स्थापित गर्नु नेपाली उद्यमशीलताको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij