२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

बूढीगण्डकी परियोजनालाई जसरी पनि सफल बनाउनुपर्छ : अध्यक्ष ओली

बूढीगण्डकी परियोजनालाई जसरी पनि सफल बनाउनुपर्छ : अध्यक्ष ओली

 

गोरखा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई जसरी पनि सफल बनाउनुपर्ने बताएका छन् ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा, २०८० अन्तर्गत शनिबार गोरखा आइपुगेका अध्यक्ष ओलीले सदरमुकाममा आयोजित भेलालाई सम्बोधन गर्दैै बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताए ।

“बूढीगण्डकी आयोजना निर्माण गर्न ठुलो क्षेत्रफलका लागि धेरै रकम मुआब्जा दिइसकेका छौँ । सरकारले अधिग्रहण गरी मुआब्जा दिएकाले आयोजना निर्माण अगाडि बढाउनुपर्छ”, उनले भने ।

आयोजना निर्माणका लागि आफूहरुले सरकारलाई घचघच्याउने काम गरिरहेको अध्यक्ष ओलीको भनाइ थियो । “नेपालका परियोजना निर्माण गर्दा फाइदा हुनेगरी बनाउन दिनुपर्छ”, उनले भने ।

आयोजना निर्माणमा ढिला भयो भन्दैमा सरकारले अधिग्रहण गरेको जमिन जनताले कब्जा गर्न नमिल्ने अध्यक्ष ओलीले बताए । “विभिन्न बाहानामा समस्या सिर्जना गर्न हुँदैन”, उनले भने । “जलाशययुक्त आयोजना तयार भएर डुबान नुहँदासम्म खेती लगाएर खाए हुन्छ”, उनले भने, “त्यसलाई बाँझै राख्नुपर्ने वा खाली छोड्नुपर्ने आवश्यकता छैन ।”

अध्यक्ष ओलीले पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइ भएकामा असन्तुष्टि व्यक्त गरे । फरक प्रसङ्गमा उहाँले राजनीतिलाई स्वस्थ्य र स्वच्छ बनाउनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij