२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रचण्डको धार्मिक यात्राप्रति बाबुराम भट्टराईको टिप्पणी : नयाँ ‘सांस्कृतिक क्रान्ति’?

प्रचण्डको धार्मिक यात्राप्रति बाबुराम भट्टराईको टिप्पणी : नयाँ ‘सांस्कृतिक क्रान्ति’?

काठमाडौँ- हालै भारत भ्रमणका क्रममा मध्यप्रदेशको इन्दौर–उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजापाठ गरेका प्रधानमन्त्री प्रचण्ड शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेपछि उनीविरुद्ध टिप्पणी गर्ने क्रम झन् बढेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड कम्युनिस्ट (नास्तिक) दर्शन छाडेर अब धर्मकर्म (आस्तिक) तर्फ लागेका हुन् त भन्ने प्रश्न उठिरहेको छ।

यसै क्रममा उनका द्वन्द्वकालीन सहयोद्धासमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डको धार्मिक यात्राविरुद्ध बारम्बार आलोचना गरिरहेका छन्।

महाकालेश्वरपछि उनले प्रचण्डको पशुपतिनाथ दर्शनविरुद्ध पनि कटाक्ष गरेका छन्। उनले प्रचण्डको उक्त धार्मिक यात्रालाई ‘नयाँ सांस्कृतिक क्रान्ति’ भनी टिप्पणी गरेका छन्।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले प्रचण्डका धार्मिक गतिविधिका तस्बिरसहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’??’

‘सांस्कृतिक नक्सा’ भनेर उनले भारतले हालै आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नक्सालाई भनेका हुन्। जसमा नेपालका लुम्बिनी र कपिलवस्तु पनि समेटिएका छन्। जसलाई प्रधानमन्त्री प्रचण्डले राजनीतिक नक्सा नभएको बताएका थिए।

भारतको महाकालेश्वर मन्दिरमा मन्त्रीहरूको टोलीसहित गएर गेरुवस्त्र धारण गरी पूजापाठ गरेका प्रधानमन्त्री प्रचण्ड स्वदेशको पशुपतिनाथमा पनि एक्लै होइन, मन्त्रीहरूसहित पुगेका थिए।

यस विषयमा डा. भट्टराई टिप्पणी गर्छन्, ‘एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठउन मिल्दैन/त्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ, तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij