२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सिन्धुलीमा थुनुवा मृत्यु घटना छानबिन गर्न समिति गठन

सिन्धुलीमा थुनुवा मृत्यु घटना छानबिन गर्न समिति गठन

काठमाडौं । प्रहरीले सिन्धुलीमा प्रहरी हिरासतमा रहेका थुनुवा मृत्यु भएको घटना छानबिनका लागि समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झन्लीडाँडाक दल बहादुर बिकका छोरा २२ वर्षीय श्रीकृष्ण बिकको हिरासतमा मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा गठन गरिएको समितिमा नेपाल प्रहरी प्रधान कार्यालय युएन शाखाका डीआइजी रविन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक प्रेम रेग्मी तथा प्रहरी नायब निरीक्षक राजेश्वर सापकोटा सदस्य रहेका छन् ।

करणी मुद्दाको अनुसन्धानका क्रममा जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप भई इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको न्यायिक हिरासत कक्षमा राखिएका बिक वैशाख ७ गते बिहान ७ः ५५ बजे हिरासत कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

मृत्यु भएपछि घटनाको तथ्यगत तथा वस्तुनिष्ठ छानबिन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयले तोकिएको जिम्मेवारीअनुसार ७ दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij