काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत शीर्ष नेताहरुका नाममा काठमाडौं जिल्ला अदालतले प्रकाउ पुर्जी जारी गरेपछि पार्टीले आन्दोलन घोषणा गरेको छ।
सोमबार पार्टीका नेताहरुको नाममा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको भन्दै मंगलबार नेकपाले आन्दोलन घोषणा गरेको हो । उक्त कदम आफूहरुसँग सरकारले गरेको सहमति विपरीत रहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लंघन मात्र होइन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो। राज्यको जिम्मेवार निकाय अदालतमा बसका न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ। साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ ।’
यस्तो गैरकानुनी, अराजक, विध्वंसात्मक कार्यको प्रतिरोधमा उत्रिन पार्टी पंक्ति एवं न्यायप्रेमी जनतालाई पार्टीले अपील गरेको छ । नेकपाले मंसिर १९ गते साँझ मशाल जुलुस, २० गते न्यायाधीशको पुत्ला दहन र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ।
विज्ञप्तिमा आफ्ना नेताहरुलाई काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्यूँताएर २०८० मंसिर १८ गते पुक्राउ पुर्जी जारी गरिएको उल्लेख छ। अदालतले महासचिव विप्लव लगायत प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्य माइला लामाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । आफूहरुसँग गरिएको सहमति कार्यन्वन गर्न माग गर्दै नेकपाले संघर्षको कार्यक्रम घोषणा गरेको उल्लेख गरेको छ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij