२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

भाजपालाई चारमध्ये तीन राज्यमा जित हासिल, कांग्रेस एक राज्यमा सीमित

भाजपालाई चारमध्ये तीन राज्यमा जित हासिल, कांग्रेस एक राज्यमा सीमित

 

भारतको सत्तारूढ दल हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले आइतबार सम्पन्न मतदानबाट प्राप्त परिणामअनुसार चार राज्यमध्ये तीनमा जित हासिल गरेको छ ।

निर्वाचन आयोगको वेबसाइटअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले भारतीय राष्ट्रिय कांग्रेसबाट छत्तीसगढ र राजस्थान राज्यको नियन्त्रण खोसेको छ र कीर्तिमानी पाँचौँ कार्यकालका लागि मध्यप्रदेशमा पुनः विजय हासिल गरेको छ ।

कांग्रेसले तेलङ्गना राज्यमा सजिलै जित हासिल गरेको छ । तेलङ्गनामा भाजपको विरोध गर्ने पार्टीका रूपमा चिनिएको बलियो तेलङ्गना राष्ट्र समितिको शासन छ । पाँचौँ राज्य मिजोरममा सोमबार मतगणना हुनेछ । यहाँ भाजपाको क्षेत्रीय सहयोगी दल मिजो नेसनल फ्रन्ट सत्तामा छ ।

यी पाँच राज्यमा गत महिना मतदान भएको थियो र १६ करोडभन्दा बढी मानिस मतदान गर्न योग्य थिए । भारतमा मतदान सामान्यतया ठूलो जनसङ्ख्याका कारण चरणबद्ध रूपमा गरिन्छ ।

प्रधानमन्त्री मोदीले आफ्नो पार्टी विजयी भएका राज्यहरूमा ‘मतदाताको अटुट समर्थन’ का लागि मतदाताहरूलाई धन्यवाद दिएका छन् । “छत्तीसगढ, मध्यप्रदेश र राजस्थानको नतिजाले भारतीय जनता सुशासन र विकासको राजनीतिमा दृढ छन् भन्ने सङ्केत गर्दछ, सुशासन र विकासका लागि भाजपा खडा छ”, मोदीले सामाजिक सञ्जाल एक्समा भने ।

कांग्रेस नेता राहुल गान्धीले तीन राज्यमा हार स्वीकार गरेका छन् । “विचारको लडाइँ जारी रहने छ”, तेलङ्गनाका जनतालाई धन्यवाद दिँदै उनले भनेका छन् ।

विजयी भएको खुशीयालीमा भाजपाका कार्यकर्ताहरू केहीले मोदीको मुखुन्डो लगाएर नाचेका थिए भने मिठाइ बाँड्दै खुशीको प्रतीकका रूपमा एकआपसमा रङ दलेका थिए ।

नयाँ दिल्ली पार्टी मुख्यालयमा प्रधानमन्त्री मोदी भाजपा कार्यकर्ताहरूबीच हिँडे । सम्बोधनमा उहाँले इमानदारी, पारदर्शिता र सुशासनको जित भएको बताए ।

करिब एक दशक सत्तामा रहनुभएका मोदी र उहाँको पार्टी राष्ट्रियस्तरमा लोकप्रिय भएको छ । उनले सन् २०२४ मा लगातार तेस्रो पटक जित हासिल गर्ने सर्वेक्षणहरूले देखाएका छन् ।

यद्यपि इन्डिया भनिने २८ विपक्षी दलहरूको नयाँ गठबन्धनबाट मोदीको पार्टीलाई राष्ट्रियस्तरमा चुनौती हुने अपेक्षा गरिएको छ । इन्डियाको नेतृत्व कांग्रेसले गरेको छ ।

निर्वाचनअघि मतदाताहरूलाई आकर्षित गर्नका लागि मोदी र गान्धी दुवैजना पाँचै राज्यमा पुगेका छन् । उत्साहपूर्ण निर्वाचन अभियानमा दुवै नेताले मतदाताहरूलाई अनुदान, ऋण मिनाहा र रोजगारीको प्रत्याभूति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij