२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

साउनदेखि काठमाडौँका सबै विद्‍यालयमा अनिवार्य नर्सिङ सेवा

साउनदेखि काठमाडौँका सबै विद्‍यालयमा अनिवार्य नर्सिङ सेवा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ। महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत ८९ वटै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो।

महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले विद्यार्थी संख्या बढी रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिने बताए। त्यस्तै विद्यार्थी संख्या कम भएको विद्यालयमा वडामार्फत उक्त सेवा प्रदान गरिने उनले बताए।

अहिले महानगरलगायत देशको सबै स्थानीय तहहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन्। कामपाले आफ्नो नीति तथा कार्यक्रमा नै उक्त विषय समेटेर आगामी आवदेखि कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले बताए।

वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धधन केन्द्रमार्फत प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी छ। कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत कामपाले खटाएका नर्सले सेवा दिनेछन्।

एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो। अहिले उक्त कार्यक्रम महानगरपालिकाको ८ वटा विद्यालयमा मात्र सञ्चालन छ। यसलाई बढाएर महानगरले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो।

उक्त कार्यक्रमसँगै महानगरपालिकाले आगामी आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ। त्यसैगरी प्रविधि र विशेष शिक्षामा गत वर्षको भन्दा यस वर्ष लगानी बढाउने अभ्यास भइरहेको महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालको भनाइ छ।

काठमाडौँ महानगरमा ८९ सामुदायिक विद्यालय छन्। सोमध्ये ५९ माध्यमिक र ३० प्राथमिक विद्यालय छन्। ५६ वटा माविमा मात्र शिक्षामा सीप कार्यक्रम लागू गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij