२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छः उपराष्ट्रपति यादव

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छः उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

फागुपूर्णिमा (होली) पर्व, २०८२ को पावन अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

उनले भने, “होली पर्वले हाम्रो राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सामाजिक बन्धनलाई अझ सबल बनाओस्, प्रेम, मैत्रीभाव र सहकार्यको वातावरण सृजना गर्दै देशलाई प्रगति र समृद्धिको मार्गमा अघि बढाउने प्रेरणा प्रदान गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

रङ्ग र उमङ्गको प्रतीक यो पर्व हिमाल, पहाड र तराई–मधेसमा विभिन्न नामले मनाइए पनि यसको मूल भावनाले आपसी सद्भाव, भाइचारा र मेलमिलापलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले सत्यको विजय र असत्यको पराजयको सन्देश बोकेको होलीले समाजलाई प्रेम, सौहाद्र्र र सहयोगी भावनाले रङ्गीन बनाउने उल्लेख गरेका छन्।

परम्परागत होरी (फागु) गीत, जोगिरा, डम्फा र ढोलकको तालमा गाइने लोकभाकाका साथै मालपुवा, दालपुरी, खिर जस्ता विशेष परिकारले हाम्रो संस्कृतिलाई जीवन्त राख्दै पुस्तान्तरणमा योगदान पु¥याउने उपराष्ट्रपति यादवको भनाइ छ ।

उनले भनेका छन्, “प्राकृतिक र वातावरणमैत्री रङ्ग प्रयोग गर्दै संस्कृतिलाई सुरक्षित राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो, होलीले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पुराना मनमुटावलाई बिर्सेर नयाँ उमङ्ग र ऊर्जासहित सम्बन्धलाई पुनः सुदृढ गर्ने अवसर प्रदान गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij