२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

राज्यका संरचनालाई भर्तीकेन्द्र बनाएर खानेहरुको हिसाबकिताब हुन्छः सभापति लामिछाने

राज्यका संरचनालाई भर्तीकेन्द्र बनाएर खानेहरुको हिसाबकिताब हुन्छः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आसन्न निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । मंगलबार चितवनको सौराह चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ गते क्रान्ति गर्नुपर्ने बताएका हुन् । उनले यो निर्वाचनले देशले वर्षौँदेखि देखेको सपना पूरा गर्ने बताए ।

उनले भने, ‘अब क्रान्ति हुन्छ, २१ गते कुनै मतदान मात्र हुनेवाला छैन। यो देशले वर्षौँदेखि देखेको सपनाको कुरा हामी गरिरहेका छौँ। यस पटक पूरा गर्नै पर्छ।’ उनले आफूलाई घेराबन्दी गरेर सखापै पार्न खोजिएको भएपनि नसकेको बताए । उनले मध्यरातमा बेडरुममा छिरेर अन्तिम इच्छा सोध्नेलाई निर्वाचनले जवाफ दिने बताए ।

उनले भने, ‘मध्यरातमा बेडरुममा छिरेर ‘तेरो अन्तिम इच्छा के हो?’ भनेर सोधेका हुन् मलाई । त्यतिखेर मैले त जवाफ दिइनँ। मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते तपाईँले बोल्नु पर्ने छ।’

उच्च अदालत रुपन्देहीले रविलाई थुनामा पठाउने आदेश दिएपछि पक्राउ गर्न घरमा पुगेका एक जना प्रहरी अधिकारीले उनलाई अन्तिम इच्छा के छ भनेर सोधेका थिए । त्यो विषयले त्यतिबेलाका सरकार निकै आलोचितसमेत बनेको थियो । उनले राजनीतिको आडमा राज्यका संरचनालाई भर्तीकेन्द्र बनाएर खानेहरुको हिसाबकिताब हुने बताए ।

उनले भने, ‘राजनीतिको आडमा राज्यका संरचनाहरूलाई भर्ती केन्द्र गराएर, आ–आफ्नो ठाउँमा लगेर बजेटको गलत वितरण गरेर, ‘मैले यति ल्याएँ र उति ल्याएँ’ भनेर देशका अन्य ठाउँलाई विभेद गरेको हिसाब यसपटक गर्नैपर्ने हुन्छ।’ उनले कांग्रेस एमालेलगायतका दलले ३४ वर्षदेखि नेपाली जनताका सपनामा डोजर लगाएका भन्दै त्यसको सबै हिसाब गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij