काठमाडौं । रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
दूतावासले परराष्ट्रको कन्सुलर सेवा विभागलाई पत्र लेख्दै यसबारे जानकारी गराएको छ । दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार ५ ठूलास्वाराका प्रितम कार्की, दोलखा मेलुङ ६ का राजकुमार रोक्का र इलाम ५ इलामका गंगाराज मोक्तान छन् ।
दूतावासले कन्सुलर विभागलाई पठाएको पत्रमा भनिएको छ, ‘नेपाली नागरिकको रुसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट टेलिग्राममार्फत ‘मेडिकल डेथ सर्टिफिकेट’ प्राप्त भएको छ । मृतकहरूको शव व्यवस्थापन लगायतका कार्यमा परिवारसँग समन्वय गर्नुपर्ने भएकाले रुसी सेनाबाट प्राप्त मेडिकल डेथ सर्टिफिकेट र सोको अनौपचारिक अंग्रेजी अनुवाद एवं अन्य कागजातहरू त्यहाँको जानकारी तथा आवश्यक कार्यार्थ यसै पत्रसाथ संलग्न गरी प्रेसित गरिएको बेहोरा निर्देशानुसार अनुरोध छ।’
रुसी सेनामा रहेका नेपालीहरूको गत १५ नोभेम्बर (कात्तिक २९) गते मृत्यु भएको हो। रुसी सेनाले पछिल्लो समय नेपालीहरूलाई सहयोगीका रूपमा राख्दै आएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij