२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने बाटोमा छः उपसभापति शर्मा

अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने बाटोमा छः उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको बताएका छन् ।

आइतबार जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहौल कांग्रेसको पक्षमा बढ्दै गएको बताए ।

उनले आगामी प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिदै जाँदा कांग्रेसप्रतिको लहर उत्साहपूर्ण रहेको दाबी गरे । अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने शर्माको दाबी गरे ।

यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने उनको ठोकुवा छ । शर्माले भने, ‘नागरिकले नयाँ खोज्नुभएको हो भने जेन–जी मुभमेन्टपछि नयाँ भएको कांग्रेस, परिवर्तन खोजेको हो भने परिवर्तन नै भएको आएको कांग्रेस हो ।’

दैनिकजसो कांग्रेसमा समाहित हुनेहरूको संख्या वृद्धि भइरहेको दाबी गर्दै शर्माले कांग्रेस पहिला भन्दा बलियो बनेको बताए । कांग्रेस आफैँ बदलिएर समाज र देश बदल्न अग्रसर भएको उनले बताए ।

‘कसैले आफैँलाई बदल्न सक्दैन तर, देश बदल्छु भन्छ भने त्यस्लाई पनि सुनौँला’, उनले भने, ‘तर जो आफूलाई बदल्न सक्छ त्यसले नै देश बदल्छ भन्ने मान्यता बमोजिम नेपाली कांग्रेस अहिले जनताको विश्वास जित्नेगरी अघि बढेको छ । दैनिक हजारौ मानिसहरू कांग्रेसमा समाहित हुनुभएको छ ।’

चितवनबाट थालेको यात्रा पश्चिमका जिल्ला पुगेर काठमाडौँ फर्केका शर्माले हल्लाका भरमा नभई जरा बलियो बनाउन सबै नेताकार्यकर्ताहरू एक ढिक्का भएर लागेको बताए । पार्टी नेता कार्यकर्तासँगै आम जनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको शर्माको भनाइ छ ।

विशेष महाधिवेशनपछि बदलिएको कांग्रेसले आफूलाई अब्बल सावित गर्दै आएको छ । पार्टीले बुधबार ६ गते जनकपुरधामबाट पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij