२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

२०८३ कार्तिक १८ मंगलबार

यहाँ कुनै नेता जिताउनका निम्ति कुनै अर्को नेता हराउने कुरा स्वीकार्य छैनः सभापति थापा

यहाँ कुनै नेता जिताउनका निम्ति कुनै अर्को नेता हराउने कुरा स्वीकार्य छैनः सभापति थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् ।

शुक्रबार कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै सभापति थापाले उत्तेजना फैलाउनेभन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका हुन् ।

उनले यो गर्ने तागत कांग्रेसले राख्नुपर्ने बताए । उनले भने, ‘हामीलाई अहिले देश सम्हाल्ने शक्ति चाहिएको छ । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ ।’

उनले भ्रष्टाचार विरुद्धको सबैभन्दा ठूलो योद्धा बदलिएर आएको नेपाली कांग्रेसले भ्रष्टाचारको आहालबाट मुलुकलाई बाहिर निकाल्ने बताए । सभापति थापाले नागरिकलाई राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास रहेकाले कांग्रेसले आत्मविश्वास दिलाउने संकल्प गर्नुपर्ने बताए ।

उनले  भने, ‘सबैभन्दा ठूलो शत्रु नेपालको को हो भनेर सोध्यो भने नागरिकले भ्रष्टाचार भन्छ । समाजमा भित्रभित्र आगो बलिरहेको छ । यो बेला कांग्रेसले नै सम्हाल्नुपर्ने हुन्छ ।’

सभापति थापाले ‘अबकी बार सय पार’ को नारा लगाएर चुनावी अभियानमा खट्न पार्टीपंक्तिलाई निर्देशन दिए । उनले संगठनको तागतले मज्जाले बहुमत ल्याउन सकिने भन्दै मतदाताको घरघर जान आग्रह गरे । उनले यहाँ कुनै नेता जिताउनका निम्ति कुनै अर्को नेता हराउने कुरा स्वीकार्य नहुने बताए ।

सभापति थापाले कुनै दलसँग चुनावी गठबन्धन नहुने भएकाले भ्रममा नपर्न आग्रह गरे । उनले भने, ‘यहाँ कुनै नेता जिताउनका निम्ति कुनै अर्को नेता हराउने कुरा स्वीकार्य हुँदैन । अब की बार यो सरकार भन्ने नारा लाउन छोडिदिनुस् । अब की बार सय पार भन्ने नारा लाउनुस् । बहुमतसम्म पुग्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij