२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८ सय ६१ निर्वाचन (म्यादी) प्रहरी छनोट भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५ सय ६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६ निर्वाचन प्रहरी छनोट गरेको हो ।

शारीरिक परीक्षण र लिखित परीक्षामार्फत छनोट भएका निर्वाचन प्रहरीलाई नियुक्तिका लागि शनिबार सम्पर्कमा बोलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

निर्वाचन प्रहरीको वैकल्पिक सूचीमा छनोट भएका २ सय ८६ जनामध्ये २ सय १२ जना छिमेकी जिल्ला बागलुङमा पठाइने उनले बताए । छनोट भएका निर्वाचन प्रहरीहरुका लागि आइतबारदेखि तालिम सञ्चालन गरिने भएको छ ।

बेनी र इलाका प्रहरी कार्यालय रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा तालिम सञ्चालन गरिने थापाले बताए । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापनमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सघाउनका लागि निर्वाचन प्रहरी नियुक्त गर्न लागिएको हो ।

छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४२ हजार ३ सय ३२ पुरुष र ४४ हजार ६४ महिला र एक अन्य गरी ८६ हजार ३ सय ९७ मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदानस्थलमध्ये आठ वटालाई अति संवेदनशील, २९ वटालाई संवेदनशील र ४५ स्थललाई सामान्य वर्गमा विभाजन गरेर निर्वाचन सुरक्षा रणनीति बनाएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij