टेक्सस । नेपाली पप–रक संगीतका दिग्गज गायक नबिन के भट्टराई आगामी जनवरी २४ मा अमेरिकाको टेक्सास राज्यको अस्टिन सहरमा सांगीतिक कार्यक्रम गर्दैछन्। यस कार्यक्रममा उनी आफ्नै ब्याण्ड अतृप्त सँगै लाइभ प्रस्तुति दिने भएका छन्। नेप्रिकन इन्टरटेन्टमेन्टले आयोजना गरेको कार्यक्रम द बेलमण्ट (The Belmont) मा आयोजना हुँदैछ र नेपाली समुदायका लागि उत्सवजस्तै सांगीतिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।
नबिन के भट्टराई नेपाली संगीत क्षेत्रका स्थापित गायक, गीतकार र सङ्गीतकार हुन्। उनी १९९० को दशकमा ‘द स्टील व्हील्स’ नामक ब्याण्डबाट आफ्नो सङ्गीतिक यात्रा सुरु गरेका थिए र त्यसपछि एकल करिअरमा सफलतापूर्वक अघि बढेका हुन्। उनको पहिलो सफल गीत ‘आँखामा तिमीलाई’ सहितको एल्बम ‘रहरै रहरमा’ ले उनलाई व्यापक लोकप्रियता दिलाइदियो र नेपाली संगीतप्रेमीबीच घरघरमा परिचित नाम बनायो। त्यसपछि उनले धेरै एल्बम र हिट गीतहरू दिए । नविका सदाबहार गीतहरुमा साँझपख एकान्तमा, सायद तिमी नै हौं, खुसी उमंग छाइदिदा, याद ले तिम्रो,ए झरी, तिमी हौ लाखौंको धड्कन, खाँदै नखाको विषले, म माया लाउँदिन. तिमीलाई म दोबाटोमा, छैन जुन किन जुन जस्तो, यादले तिम्रो जस्ता गीतहरू समावेश छन्।
नबिन के भट्टराईले आफ्नो करिअरमा धेरै प्रतिष्ठित पुरस्कारहरू जितेका छन्। उनले साझा स्मृति अवार्डमा दुई पटक सर्वोत्कृष्ट पुरुष स्वर को पुरस्कार जितेका छन् । नेपाली सांगितिक क्षेत्रको प्रतिष्ठित छिन्नलता पुरस्कार बिजेता नविनले हिट्स एफएम म्युजिक अवार्डसहित दर्जनौ अवार्डहरु हासिल गरेका छन् ।
अस्टिनमा हुन लागेको यस सांगीतिक कार्यक्रममा नेपाली–अमेरिकी संगीतप्रेमीहरू मात्र होइन, नबिनका दीर्घकालीन प्रशंसकहरू पनि उपस्थित हुने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाली सांगीतिक सदाबहार गीतका साथै ब्याण्ड अतृप्तसँगै रोचक र उर्जाशील प्रस्तुति रहने आयोजकले जनाएको छ । यस कार्यक्रमले नेपाली सांगीतिक शैलीलाई अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गर्ने अवसर पनि प्रदान गर्नेछ।
कार्यक्रमको टिकट बिक्री तीव्र रूपमा भइरहेको छ र यसमा सहभागी दर्शकलाई अविस्मरणीय साँझ प्रदान गर्ने तयारी आयोजकले अघि सारेका छन्। नेपाली सांगीतिक इतिहासमा लामो समयदेखि सक्रिय रहेर प्रभावकारी योगदान दिने नबिन के भट्टराईको यो प्रस्तुति अमेरिकामै ठूलो उत्साहसँग हेरिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij