२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

‘तीर्थकुमारी स्वर्णिम साँझ’मा १९ गीत प्रस्तुत

‘तीर्थकुमारी स्वर्णिम साँझ’मा १९ गीत प्रस्तुत

 

काठमाडौँ ।  शुक्रबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत भएकी छन् । ‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ नाम दिइएको उक्त कार्यक्रममा उनले आफ्ना लोकप्रिय १९ गीत गाइन् ।

एकल र युगल गायनमा प्रस्तुत भएकी गायिका थापाले आफ्नो एकल साँझमा गाउने सपना पूरा भएको भन्दै सहभागीलाई धन्यवाद दिइन् । “मेरो गीतहरू पुनः गाउने अवसर पाएँ । मेरो यो इच्छालाई पूरा गर्न सहयोगी भूमिका खेल्नु हुने सम्पूर्णप्रति आभारी छु”, उनले भनिन्, “केही दिन अभ्यास गरेर गीत गाएँ । यो खुसीलाई शब्दमा व्यक्त गर्न सकिरहेकी छैन ।”

विसं २०२८ मा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरु गरेकी ७३ वर्षीया गायिका थापालाई युगल गायनमा उहाँका छोरा सुरज थापा, ध्रुवराज खड्कालगायतले साथ दिए । “देश तथा विदेशमा मैले धेरै साङ्गीतिक कार्यक्रम गरेकी छु । विविध कारणले एकल साँझमा प्रस्तुत भएकी थिइन् । यो उपस्थितिले गायनलाई निरन्तरता दिन हौसला थपेको छ”, उनले भनिन् ।

गायिका थापाका छोरा सुरजले आमाको इच्छालाई पूरा गर्न पाउँदा आफ्नो जीवन सफल भएको आभास गरेको बताए । उनी गायक तथा सङ्गीतकार पनि हुन् ।

“मैले एकल साँझ गर्ने उद्देश्यले केहीसँग छलफल गरेँ । उहाँहरूले पुराना गीतसङ्गीत र स्रष्टालाई प्रवद्र्धन गर्न हामी तत्पर छौँ भनेपछि यसको सुरुवात भयो”, उनले भने, “आमाले देख्नुभएको सपना पूरा गर्ने मेरो सपना आज पूरा भएको छ । यसलाई पूरा गर्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिन ।”

अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना तथा काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्स्ट्रक्सनको सहआयोजनामा सम्पन्न कार्यक्रममा गायिका थापाले ‘डाँडामा माथि बिहानै…’ गीतबाट साँझको सुरु गरेर आफ्ना लोकप्रिय गीतहरू ‘म त खाँदिन कुवाको पानी हो…’, ‘ढुङ्गे बगर माया…’,‘झम्के फूली नाकैमा बुलाकी…’,‘उकालीमा पनि हजुर…’,‘बारीको डिलमा ओखरबोट…’,‘माछी मार न हे दाइ हो…’ लगायत गीत नेपाली र नेपाल भाषामा गाएकी थिइन् । उपस्थित दर्शकको अनुरोधपश्चात् उनले ‘माछी मार न हे दाइ हो…’ दुईपटक गाइन् ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार रञ्जित गजमेर, गायिका ज्ञानु राणा, गीतकार दिनेश अधिकारी, गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यलगायत गीतसङ्गीतसँग जोडिएका व्यक्तित्वको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij