काठमाडौँ । नेकपा एमालेले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताएका हुन् । एमालेले यसअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।
महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ । गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी सङ्ख्या घटाएको थियो ।
महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित सल्लाघारीस्थित खुल्लाचौरमा हुने भएको छ भने बन्दसत्रको कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा तय गरिएको छ ।
एमालेको यस महाधिवेशनमा २४ सय भन्दा बढी प्रतिनिधिहरुले भाग लिदैछन् । एमालेले मङ्सिर १३ गते नै देशभर एकैपटक महाधिवेशन प्रतिनिधि छनौट गरेको थियो । धेरै जसो जिल्लामा सहमतिमा प्रतिनिधि छनौट भएपनि केहि जिल्लामा चुनावबाट प्रतिनिधि छानिएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij