काठमाडौँ- क्रिकेट खेलाडी सन्दीप लामिछाने अभ्यास खेलका लागि दक्षिण अफ्रिका गएका छन्।
दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्न त्यहाँ पुगिसकेको राष्ट्रिय टोलीमा सहभागी हुन सन्दीप सोमबार साँझ त्यसतर्फ लागेका हुन्।
जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको बलात्कारसम्बन्धी मुद्दाको तारिख आगामी असार २९ गतेका लागि तोकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई दक्षिण अफ्रिका पठाएको हो।
दक्षिण अफ्रिकामा अभ्यास म्याच खेल्न राष्ट्रिय टोलीका अरू सदस्य भने मंगलबार नै त्यसतर्फ गइसकेका छन्।
उच्च अदालत पाटनले गत पुस २९ गते जेलबाट रिहा गर्ने गरी दिएको आदेशमा सन्दीपलाई विदेश जान रोक लगाएको थियो। तर सर्वोच्च अदालतले उच्चको उक्त आदेशलाई बदर गर्दै विदेश जाने बाटो खोलिदिएको थियो।
तर, सन्दीपले हरेक २१ दिनमा जिल्ला अदालतमा उपस्थित हुनुपर्ने बाध्यात्यमक प्रावधानले उनी मंगलबार त्यता जान पाएनन्।
यसबीच सन्दीपका वकिलहरुले कम्तीमा डेढ महिना पर पेसी सार्न अदालतमा निवेदन दिएका थिए।
अदालतबाट उक्त निवेदन स्वीकृत हुँदै अर्को तारिख आगामी असार २९ गतेलाई मात्रै तोकिएपछि सन्दीपको क्रिकेट यात्रा नरोकिएको हो।
दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ। त्यसपछि टोली त्यहीँबाट विश्वकपको ग्लोबल छनोट खेलमा सहभागी हुनका लागि जिम्बाब्वे उड्नेछ।
सन्दीप दक्षिण अफ्रिकाको अभ्यास म्याच र जिम्बाब्वेमा हुने छनोट खेलमा पनि सहभागी हुन पाउने छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij