कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा बिहीबारदेखि ‘एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–१३ स्थित आर्बा–विजयडाँडामा आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित ११ देशका ५५ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी खेलाडीमा पाँच जना महिला छन् । साहसिक खेल पर्यटनका लागि प्रख्यात पोखरामा प्रतियोगिताबाट विश्वभरका साहसिक माउन्टेन बाइकप्रेमीलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा प्रतियोगिता समुद्री सतहबाट एक हजार तीन सय ६० मिटर उचाइमा रहेको आर्वा–विजयडाँडामा सुरु भएको हो । प्रतियोगिताका लागि पाँच वटा रुट तय गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिङ्गापुरका खेलाडी वेलसोन लोलाई नम्बर प्लेट दियर प्रतियोगिताको उद्घाटन गरे । इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरी सात विधामा प्रतिस्पर्धा सञ्चालन गरिने प्रतियोगिताका निर्देशक सुनिलचन्द्र शर्माले जानकारी दिए ।
प्रतियोगिताको इलिट पुरुषतर्फको विजेताले नगद ५० हजार उपविजेतालाई ३० हजार र तृतीय हुनेलाई २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महिलातर्फ सोही इभेण्टमा विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तृतीय हुनेलाई १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा महानगर प्रमुख आचार्यले पोखरालाई खेल पर्यटनको राजधानीका रुपमा विकास गर्नका लागि खेलकुद प्रतियोगितालाई सहयोग गर्दै आएको बताए ।
पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले विकासमा पछाडि परेको आर्वाको भौतिक तथा पर्यटन विकासमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij