२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

सद्भावले बनाए चार स्ट्रोकको अग्रता

सद्भावले बनाए चार स्ट्रोकको अग्रता

काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन राष्ट्रिय टिमका एमेच्योर गल्फर सद्भाव आचार्य ४ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन् ।

गोकर्ण गल्फ क्लबमा सद्भावले बुधबार ४–अन्डर ६८ स्कोर गर्दै समग्रमा १४–अन्डर २ सय २ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ४ स्ट्रोकले पछि पारे। चार स्ट्रोकको अग्रतामा सदभावले उपाधि जित्ने संभावना बलियो बनाएका छन् । दिनेशले ३–अन्डर ६९ अंक जोडदा समग्रमा १०–अन्डर २ सय ६ सहित दोस्रो स्थानमा कायमै रहेका छन् । उनी प्रोफेसनलतर्फ भने सबैभन्दा अगाडि रहेका छन् ।

समग्रमा ७–अन्डर ३ सय ९ को सानदार स्कोरमा भुवन नगरकोटी तेस्रो स्थानमा उक्लिए। भुवनले आज दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा ७–अण्डर ६५ खेले।

सञ्जय लामा र जयराम श्रेष्ठ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन् । आज सञ्जयले ३–अन्डर ६९ र जयरामले ३–ओभर ७५ को प्रदर्शन गरे। धन बहादुर थापा र एमेच्योर खेलाडी टासी छिरिङ समग्रमा इभन–पार २ सय १६ सहित संयुक्तरुपमा छैटौ स्थानमा रहे। धनले आज १–ओभर ७३ र टासीले २–ओभर ७४ स्कोर गरे।

आज १–ओभर ७३ अंक बनाएका नीरज तामाङ समग्रमा २–ओभर २ सय १८ सहित आठौं स्थानमा रहेका छन। यस्तै समग्रमा ४–ओभर २ सय २० सहित रवि खड्का र प्रदीप कुमार लामा संयुक्तरुपमा नवौँ स्थान बाँडे। रबिले आज इभन–पार ७२ र प्रदीप कुमार लामाले २–ओभर ७४ को स्कोर गरे।

यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका सदभावले आज पनि लोभलाग्दो सुरूवात गरे। दोस्रो देखि पाँचौँ होलमा लगातार चार बर्डी प्रहार गरे। ३–पारको आठौं होलमा एक सट खेर फाले। नवौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। ब्याक नाइनको सुरूवात पनि राम्रो गरे।

१० औं होलमा बर्डी र ५–पारको ११औं होलमा इगलको सफलता प्राप्त गरे। यतिखेर सदभावले ७–अन्डर बनाइसकेका थिए। तर उनले यो स्कोरलाई कायमै राख्न सकेनन। १५औं, १६औं र १७औं होलमा एक–एक सट खेर फाल्दा ब्याक नाइन इभन–पार ३६ मा सकाए ।

दिनेशले दिनको सुरूवात बोगीबाट गरे। यसपछि चौथो, छैटौं, सातौं, र आठौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन ३–अन्डर ३३ मा पुरा गरे। यसपछि १२औं होलमा बर्डी र १५औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन इभन–पार ३६ मा सकाए।

भुवनले आज दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए। उनले तेस्रो, चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। ३–पारको आठौं होलमा भने डबल बोगी खेपे। यसपछि १०औं, ११औ, १३औं र १७औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ४–अन्डर ३२ मा पुरा गरे।

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij