काठमाडौं : नेपाल प्रहरीका एसपी भीमबहादुर दाहाल १२ दिनदेखि थुनामा छन्। प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत दाहाललाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो।
दाहालको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि २४ कात्तिकमा दाहाल पक्राउ परेका थिए। २४ कात्तिकको राति करिब ९ बजे दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो।
घटनापछि पक्राउ परेका प्रहरी उपरीक्षक दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको हो। दाहालमाथि १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
दुर्घटनामा परेको गाडी एसपी दाहालले चलाएका थिए। दुर्घटनामा मोटसाइकल चालक कमल गाउँपालिका– ६ का १९ वर्षीय खगेन्द्र ताजपुरिया सामान्य घाइते भएका थिए। मोटरसाइकलमा सवार १८ वर्षीय पुजन राजवंशी र १८ वर्षीय अनिल मडी गम्भीर घाइते भएका थिए। मडीलाई अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij