२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

सुदूरपश्चिमेलीलाई लाग्यो गौरा पर्व, कसरी मनाइन्छ यो मौलिक चाड ?

सुदूरपश्चिमेलीलाई लाग्यो गौरा पर्व, कसरी मनाइन्छ यो मौलिक चाड ?

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने यसका जानकार खगेश्वरी साउदले बताए । “एक महिनाअघि देखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गर्नुपर्छ,” उनले भने, “बिरुडा भिजाइँदा मांगलिक सगुन फाँग गाउँछौँ ।” यो पर्वमा पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लगाउँछन् ।

“गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रूपमा दुवधागो लगाउने गछौँ,” उनले भने, “गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरू निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ ।”

आजैदेखि ठाउँ ठाउँमा देउडा समेत खेलिने प्रचलन छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धांगिनी पार्वतीलाई गौरा देवीका रूपमा पूजाअर्चना गर्ने चलन छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij