काठमाडौं । लोकतन्त्रवादी इञ्जिनियरहरुको संस्थान सेण्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) को महाधिवेशन यही भदौ १४ गते हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले डेमोक्रेट इञ्जिनियरहरुमा चुनावी माहोल बढेको छ ।
नयाँ नेतृत्वका लागि दुईपक्षीय गुटगत प्यानल प्रतिस्पर्धा भइरहँदा महासचिवका स्वतन्त्र उम्मेदवार कुलराज खनालले भने सबैको ध्यान खिचेका छन् । कांग्रेसको शुभेच्छुक संस्थाहरुमा पार्टीको परम्परागत गुटबीच मात्रै प्रतिस्पर्धा हुने गरेपनि महासचिवका उम्मेदवार कुलराज खनालले भने गुटरहित सिडेनको एजेण्डासहित प्रचार अभियान सुरु गरेका छन् ।
उनले लोकतन्त्रवादी इञ्जिनियरहरुको हकहित प्रबर्धन र सिडेनलाई वृत्तिविकासको थलो बनाउने योजना अघि सारेका छन् । गुटगत प्रतिस्पर्धा र प्रतिशोधले सिडेनलाई क्रमशः कमजोर बनाउँदै लगेको भन्दै उनले सिडेनलाई सक्षम संगठन बनाउन चाहनेहरुले आफूलाई मद्दत गर्ने विश्वास व्यक्त गरे ।
‘म विद्यार्थी राजनीतिको पृष्ठभूमीबाट आएको हूँ । सिडेन विशुद्ध पेशागत संगठन हो । यसको उद्देश्य पेशागत हकहितको प्रबर्धन गर्नु हो । आज नेपालका इञ्जिनियरहरुले भोग्नु परेका साझा समस्याहरुको समाधान नै मेरो मुख्य एजेण्डा हो’, खनालको भनाई छ । उनले गुटगत प्यानलको प्रतिस्पर्धाले आफ्नो उम्मेदवारीको औचित्य अझ पुष्टी भएको भन्दै धेरै शुभेच्छुकहरुले हिम्मत प्रदान गरेको बताए । ‘सिडेनलाई गुटको वा नेताको होइन इञ्जिनियरको बनाउनुपर्छ भन्ने साथीहरुले अगाडि बढ्न हौसला दिनुभएको छ । महासचिवमा मेरो जित सुदृढ बन्दै गइरहेको छ’,खनालको दावी छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij