२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

२०८३ कार्तिक ८ शनिबार

साउदी अरेबियाबाट पनि श्रम वैधानिकीकरण सुरु

साउदी अरेबियाबाट पनि श्रम वैधानिकीकरण सुरु

काठमाडौँ । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकीकरण कार्य साउन ३० गतेदेखि औपचारिक रूपमा सुरु भएको छ।

नेपाली दूतावास रियादमा आयोजित एक समारोहमा आठ वर्षदेखि त्यहाँ कार्यरत अजय दंगालको बायोमेट्रिक लिई राजदूत डा. नरेश विक्रम ढकालले श्रम वैधानिकीकरण प्रक्रियालाई औपचारिकता दिए।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा कार्यरत श्रमिकलाई वैधानिकीकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयास प्रशंसनीय रहेको बताए।

 

उनले श्रम स्वीकृतिविहीन अवस्थाका कारण वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफ्नो मुलुक फर्किन नसक्ने अवस्था सिर्जना हुनु मानवीय दृष्टिले पनि अनुचित भएकोले यो अभियान सुरु गरिएको जानकारी दिए। साथै, साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने उल्लेख गर्दै अबका सेवा प्रविधिमा आधारित हुने पनि जानकारी दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभावजस्ता कारणले श्रम स्वीकृतिविहीन नेपालीहरू राज्यबाट प्रदान हुने सेवाबाट बञ्चित भइरहेका हुँदा दूतावासमार्फत श्रम वैधानिकीकरण आवश्यक भएको बताए।

त्यसैगरी, साउदीस्थित नेपाली राजदूत डा. ढकालले श्रम वैधानिकीकरण कार्यलाई अभियानका रूपमा सञ्चालन गरिने भन्दै यसमा विभिन्न सङ्घ–संस्थाको समन्वय र सहकार्यको लागि आग्रह गरे।

रियादस्थित नेपाली दूतावासका काउन्सेलर कविराज उप्रेतीले, “नेपाली राजदूतावास रियाद निरन्तर श्रमिकमैत्री कार्यमा लागिरहेको र यसै अनुसार श्रम स्वीकृतिलिनबाट कोही पनि बञ्चित हुन नपरोस् भनी वैधानिकीकरण श्रम स्वीकृति सुरु गरिएको हो। अब निरन्तर रूपमा वैधानिकीकरण श्रम स्वीकृति नेपाली राजदूतावास रियादबाट सुचारु हुनेछ,” भने।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij