२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

दुई हजार किलोमिटरको यात्रामा निस्किँदै एमाले

दुई हजार किलोमिटरको यात्रामा निस्किँदै एमाले

धनगढी– नेकपा एमालेले मंसिर १४ गतेदेखि तीन साता लामो अभियानको आयोजना गर्दै छ। यो पुष्पलाल (मध्य पहाडी) राजमार्ग केन्द्रित अभियान हुने बताइएको छ।

झन्डै दुई हजार किलोमिटर लामो यात्रा छिचोल्ने गरी सुरु हुन लागेको अभियानको तयारीका लागि एमालेले मंसिर ६ गते केन्द्रीय कमिटीको छैठौं बैठक पनि राख्दै छ।

पार्टीले बैतडीको जुलाघाटदेखी पाँचथरको चिवा भन्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गर्न लागेको हो। पार्टी केन्द्रीय कमिटीको निर्देशन अनुसार यात्रा हुने प्रदेश कमिटीले समन्वय गरी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूले पुष्पलाल राजमार्गमा तोकिएका क्षेत्रमा सहभागी हुने सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारी बैठकले निर्णय गरेको छ।

बैतडीको गोठलापानीमा जनसभा गरी डडेल्धुरा, डोटी र अछामको राजमार्गमा पर्ने मुख्य स्थानहरूमा समाजको विभिन्न वर्ग र समुदायको व्यापक उपस्थिति गराउने निर्णय भएको पार्टी प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले बताए।

खाली शास्त्रीय या तथ्यांकगत निष्कर्षमा मात्रै पुग्ने भन्दा पनि त्यहाँ बसिरहेका नागरिकहरूको प्रत्यक्ष अनुभूति सुन्नकै लागि एमालेले आफ्नो अभियान मध्य पहाडी राजमार्गतर्फ डोर्‍याएको एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले बताए।

पूर्वाधार पुग्ने तर नागरिक नहुने, पूर्वाधार र उत्पादन, पूर्वाधार र रोजगारी, पूर्वाधार र गरिबी उन्मूलनका विषयमा तादात्म्य नदेखिएको विषयको खोजी नै अहिलेको अभियानको उद्देश्य रहेको पनि उनले बताए।

‘यो समृद्धिका लागि यात्रा हो। एमाले आयोजक मात्रै हो यसमा सबैको सहभागिता रहन्छ,’ उनले भने, ‘नेकपा एमालेले लिएको समृद्धिको लक्ष्यमा पुग्न यस यात्राले महत्त्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौं, हामी आफ्ना प्रदेशबाट तयारीमा निकै अगाडि बढेका छौं अन्य कुरा पार्टी केन्द्रीय कमिटीले निर्णय गर्ने छ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij