काठमाडौं : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
संघीय संसद सचिवालयका अनुसार आज अपराह्न ४ बजे महासचिव गुटेरेसले संसदलाई सम्बोधन गर्नेछन् । गुटेरेसको सम्बोधनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक अपराह्न चार बजेका लागि बोलाइएको छ ।
संसद सचिवालयद्वारा जारी सूचनामा सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन र औपचारिक पोशाकमा आउन भनिएको छ । राष्ट्रसंघका महासचिव गुटेरेस चार दिन लामो नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।
उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेताहरुसँग औपचारिक भेटवार्ता गरिसकेका छन् । अन्नपूर्ण हिमाल क्षेत्र, लुम्बिनी लगायतको भ्रमण गरेका गुटेरेस भोली फर्किने कार्यक्रम रहेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij