काभ्रेपलान्चोक । संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले काभ्रेको मण्डनदेउपुर क्षेत्रको समग्र विकासका लागि सरकार सधै सकारात्मक रहेको र यसमा पालिकाले अग्रस्थानमा रहेर भूमिका खेल्न जरुरी रहेको बताएका छन् ।
सोमबार काभ्रेको मण्डनदेउपुर नगरपालिका १० मा पुनर्निर्माण भएको श्री उमादेवी माइ र भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले पछिल्ला केही वर्ष यता मण्डनदेउपुरले पनि विकासमा गति लिएको र यो क्रम निरन्तरताको लागि सरकारले सधैँ सहयोग गर्ने बताएका हुन् ।
यहाँको अवस्था देख्दा आफूलाई पर्यटकीय स्थानको रुपमा विकास गर्न मन लागेको उल्लेख गर्दै अर्थमन्त्री महतले मण्डनदेउपुरका मुख्य सडक कालोपत्रे भइरहेकोमा अब महादेवस्थानदेखि चण्डेनी थुम्का हुँदै हल्देछाप र दोलालघाट जोड्ने र फेदीदेखि चण्डेनी हुँदै इन्द्रावती जोड्ने सडकलाई पक्की बनाउन सरकारले बजेट छुट्याउने बताए। मण्डनको कृषिक्षेत्र, खानेपानी, धार्मिक मठमन्दिर, सडक लगायतका विकास निर्माणका लागि आफ्नोतर्फबाट हुनसक्ने सबैखाले सहयोग दिन तयार रहेको उनले आश्वासन दिए ।
आफूले तत्कालै यो क्षेत्रमा यति नै बजेट छुट्याउने भन्न नसक्ने भए पनि मण्डनदेउपुरका हरेक क्षेत्रमा आवश्यक आर्थिक सहयोग गर्न सरकार तयार रहेको तर त्यसलाई सदुपयोग गर्न स्थानीयवासी, पालिका र जनप्रतिनिधिले भूमिका खेल्नु पर्नेमा उनले जोड दिए ।
ऐतिहासिक उमादेवी र भिमसेन मन्दिर ०७२ सालको विनासकारी भूकम्पपछि पूर्णरुपमा क्षति भएको थियो । त्यसलाई नगरपालिका र पुरातत्व विभाग लगायत विभिन्न संस्थाहरुको सहयोगमा गतवर्ष पुनर्निर्माण गरिएको थियो । ती मन्दिरको उद्घाटनका लागि अर्थमन्त्री डा महत मण्डनदेउपुर पुगेका हुन् ।
उनलाई उमादेवी मन्दिरको महत्व र यहाँ निर्माण हुन बाँकी केही संरचनाका बारेमा उपप्रमुख विष्णुमणि नेपालले अवगत गराएका थिए । साथै उपप्रमुख नेपालले समग्र मण्डनदेउपुर नगरपालिकाका लागि सरकारले गर्नुपर्ने सहयोग र पालिकाले गरिरहेका कामहरुको बारेमा अर्थमन्त्रीसमक्ष जानकारी गराउँदै मागपत्र पनि हस्तान्तरण गरे। सो मागपत्रका उपर अध्ययन गरेर छिट्टै नै सहयोगका कार्यक्रम सार्वजनिक गर्ने अर्थमन्त्री महतको प्रतिबद्धता थियो ।
विकासका लागि देशभरिबाट माग आउने गरेकाले आफूले सबै ठाउँको उतिकै जिम्मेवारी लिनु पर्ने बाध्यताका कारण बजेटको विनियोजन गर्दा सबैलाई सन्तुलनमा राख्नु पर्ने बताउँदै उनले मण्डनदेउपुरलाई सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाइवाले मण्डनदेउपुर जिल्लामै ऐतिहासिक र पर्यटकीय ठाउँ भएर पनि हुनु पर्ने जति प्रचार नभएका कारण विकासमा पछि परेको बताउँदै नगरपालिकाको विकासका लागि आफू सधैं सक्रियतापूर्वक लागिपर्ने बताए । यसैगरी वागमती प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सबै मिलेर अघि बढ्ने हो भने समग्र नगरपालिका र जिल्लाको विकास सम्भव भएको औंल्याए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij