२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

विश्वकप क्रिकेट : अफगानिस्तानले पाकिस्तान हरायो

विश्वकप क्रिकेट : अफगानिस्तानले पाकिस्तान हरायो

काठमाडौं । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा अफगानिस्तानले सनसनीपूर्ण प्रदर्शन गरेको छ । विश्वकपको २२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गरेको हो ।

यसअघि इङ्गल्याण्डलाई हराएर सनसनी मच्याएको अफगानिस्तानले चेन्नईमा सोमबार भएको खेलमा पाकिस्तानमाथि ८ विकेटको जित हासिल गर्दै थप सनसनी मच्याएको हो ।

जितका लागि २८३ रनको चुनौती पछ्याएको अफगानिस्तानले ४९ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो ।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले ११३ बलमा ८७, रहमत शाहले ८४ बलमा अविजित रहँदै ७७, रहमनुदुल्लाह गुर्बाजले ५३ बलमा ६५ तथा कप्तान हशमतुल्लाह शाहिदीले ४५ बलमा अविजित रहँदै ४८ रन बनाए ।

पाकिस्तानका शहिन शाह अफ्रिदी र हसन अलीले १–१ विकेट लिए ।

यसअघि खेलमा टस जितेर पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षति २८२ रन बनायो ।

कप्तान बाबर आजमले ७४ तथा ओपनर अब्दुल्लाह शफिकले ५८ रन बनाए । छैटौँ विकेटका लागि ७३ रनको साझेदारी गर्ने क्रममा इफ्तिकार अहमदले २७ बलमा ४० तथा शदाब खानले ३८ बलमा ४० रन बनाए ।

अफगानिस्तानका लागि नुर अहमदले ३ तथा नविन उल हकले २ विकेट लिए । राशिद खान विकेटविहीन भए ।

सन् २०१९ मा एक खेल पनि नजितेको अफगानिस्तानले यसपालि दुई पूर्व च्याम्पियनहरुलाई हराएर सेमिफाइनलको यात्रामा पुग्नका लागि अन्य टिमलाई चुनौती पस्केको छ ।

यो हारले भने पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij