२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नेपाल अपराजित, युएईमाथि ५ विकेटको जित

नेपाल अपराजित, युएईमाथि ५ विकेटको जित

काठमाडौं । त्रिदिवसीय टी–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले यूएईलाई पाँच विकेटले हराएको हो।

फाइनल पुगिसकेको नेपालले अपराजित यात्रा कायम राखेको छ। जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

नेपालका लागि ओपनर असिफ सेखले सर्वाधिक ६२ रनको योगदान दिए। कप्तान रोहित पौडेल ४७ रन जोडे। दीपेन्द्रसिंह ऐरीले १४ बलमा ६ चौकर १ छक्कासहित ३९ रन जोड्दै नेपाललाई जितसम्म पुर्‍याएका हुन्।

नेपालले सुरुवाती ३ ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्लको साथ गुमाएको थियो। त्यसपछि कप्तान रोहितकुमार पौडेल र आसिफ सेखले ९९ रनको साझेदारी गर्दै नेपाललाई खेलमा कायम राखेका थिए।

आसिफले १६ औँ ओभरमा आउट हुनुअघि ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे।

यसअघि यूएईले नेपाललाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको थियो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो। उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए। त्यस्तै आसिफ खानले १८ रन बनाएका थिए।

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिएका थिए।

अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij