२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आजको मौसम : तराईमा तातो हावा र पहाडमा चट्याङ

आजको मौसम : तराईमा तातो हावा र पहाडमा चट्याङ

काठमाडौँ- केही दिनदेखि देशभर बढिरहेको गर्मी अझै केही दिन घट्ने सम्भावना देखिएको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कम्तीमा आगामी ३ दिनसम्म वर्षाको खासै सम्भावना छैन। जसले गर्दा तापक्रम वृद्धि भइरहने देखिन्छ।

पहाडी भेगमा आंशिक बदली (२६ देखि ५० प्रतिशत आकाशमा बादल लाग्नु) र एक/दुई स्थानमा छिटपुट वर्षाको सम्भावना देखिए पनि देशका बाँकी सबै स्थानमा मौसम सामान्यतया सफा (घाम लाग्नु) रहने मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखाको बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका ‍एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

‘आंशिक बदलीले खासै वर्षा हुँदैन’, महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘आज पहाडी भेगका एक दुई स्थानमा छिटपुट मात्र वर्षा हुनसक्छ, पहाडी भूभागअन्तर्गत काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना निकै कम देखिन्छ।’

यस्तै आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका ‍एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसमविद्का अनुसार मौसम बदली र वर्षा भएन भने तापक्रम घट्दैन र गर्मी भइरहन्छ। आज पनि काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा बिहानैदेखि घाम लागेको मौसमविद् मानन्धरले बताइन्।

‘हामीले तापक्रम सम्बन्धमा मंगलबारसम्मका लागि विशेष बुलेटिन जारी गरिसकेका छौं’, मौसमविद् मानन्धरले भनिन्, ‘त्यही भएर खासगरी तराई क्षेत्रमा मंगलबारसम्म सतर्कता अपनाउन आवश्यक छ।’ उक्त विशेष बुलेटिनमा तराईमा तातो हावा चल्ने र लु लाग्ने सम्भावना रहेकाले सकेसम्म घरभित्र र शीतल स्थानमा बस्न आग्रह गरिएको छ।

उनका अनुसार काठमाडौं उपत्यकामा शनिबार अधिकतम तापक्रम ३२ डिग्री पुगेको छ भने जनकपुर, भैरहवा, सिमराजस्ता स्थानमा ४० डिग्री तथा यसभन्दा माथि तापक्रम उक्लेको छ।

‘यसपालि मनसुन (वर्षा याम) भित्रिन पनि अलि ढिला होलाजस्तो छ’, मौसमविद् मानन्धरले भनिन्, ‘मनसुन नआउँदासम्म पानी पार्ने ठूलो प्रणाली आउलाजस्तो देखिन्न।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij