काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा पुनः एकै ठाउँ उभिएका छन् । लामो समयदेखि आपसी संवाद तोडेर पार्टीभित्र आ–आफ्नै तयारीमा लागेका नेताद्वयबीच पार्टीका आन्तरिक विषयमा मिलेर जाने सहमति बनेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएपश्चात सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंग्याउने विषयमा ११ महिनाअघि शेखर र गगनबीच औपचारिक संवाद भएको थियो । लगत्तै सरकार सञ्चालनको उच्चस्तरीय समितिमा भूमिका पाएपछि महामन्त्री थापा सभापति शेरबहादुर देउवासँग निकट रहेर काम गर्दै आएका थिए । पार्टीभित्र विकसित पछिल्लो परिस्थितिले शेखर र गगनलाई पुःन एकै ठाउँमा ल्याएको हो ।
शेखरको बालुवाटारस्थित सम्पर्क कार्यालयमा झण्डै ११ महिनापछि महामन्त्री थापा पुगेका छन् । शुक्रबार बिहान शेखर र गगनबीच संवाद हुँदा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार र अन्य २ केन्द्रीय सदस्यपनि साथमै थिए । शुक्रबारको छलफलमा पार्टीको आन्तरिक विषयमा केन्द्रीत रहेर छलफल भएको एक नेताले बताए । ‘लामो समय भइसकेको थियो हामीबीच संवाद नभएको । पार्टीभित्रका केही विषयमा साझा मत लिएर प्रस्तुत हुने सहमति बनेको छ’, ती नेताले भने ।
स्रोतका अनुसार कांग्रेसको अनुशासन समितिको काम कारवाही, क्रियाशील सदस्यता, महाधिवेशन तालिका लगायत विषयमा छलफल भएको छ । महामन्त्री थापा पछिल्लो समय सत्तारुढ गठबन्धनको बैठकमा जान छाडेका छन् । शेखर गगनबीच संवादहीनता तोडिनुलाई कांग्रेसवृत्तमा चासोका साथ लिइएको छ । राष्ट्रिय राजनीतिका कतिपय सवालमा विगतमा मत नमिलेपनि अब संवाद गरेर अगाडि बढ्ने सहमति नेताहरुबीच भएको बताइएको छ । ‘शेखर दाई र गगनजीलाई फरक गर्न पार्टीभित्र प्रयास भइरहेको थियो । त्यसलाई असफल बनाएर एकै ठाउँ राख्ने प्रयास पनि भइ नै रहेको छ । शुक्रबारको संवादले हामीलाई उत्साहित बनाएको छ’, बैठकमै सहभागि एक नेताले समाजप्रेससँग भने ।
केही दिनअघि कांग्रेस पदाधिकारी बैठकमा डा.शेखर कोइराला लगायतलाई स्पष्टीकरण सोध्नेलगायतका प्रस्तावमा छलफल भएका थिए । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर नैतिकता देखाउनु उपयुक्त हुने शेखरको धारणालाई लिएर शेखरमाथि कारवाही हुुनुपर्ने मागमा गगनले सहमति जनाएका थिएनन् । शेखर र गगनबीच संसदको आगामि बैठक जेठ २० गतेसम्म परिस्थितिको विश्लेषण गर्ने र लगत्तै उचित साझा मत व्यक्त गर्ने सहमति बनेको स्रोतको दावी छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij