२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कोशीको मुख्यमन्त्री को बन्ला, आङ्बो कि कार्की?

कोशीको मुख्यमन्त्री को बन्ला, आङ्बो कि कार्की?

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज (शुक्रबार) मुख्यमन्त्री नियुक्त गर्दै छन्। तर उनी अन्योलमा छन्– कसलाई मुख्यमन्त्री बनाउने भनेर। किनकि उनको आह्वानअनुसार संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीमा दुई जनाले दाबी पेस गरेका छन्।

प्रदेशसभा सदस्यद्वय इन्द्र आङ्बो (माओवादी केन्द्र) र केदार कार्की (नेपाली कांग्रेस) ले मुख्यमन्त्री पदका लागि बिहीबारै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्। मुख्यमन्त्रीमा दाबी पेसका लागि दिइएको समय सीमा आज साँझ ५ बजे सकिँदै छ।

आङ्बो र कार्की दुवैले ४७/४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउँदै आफूलाई मुख्यमन्त्री बनाउनुपर्ने माग गरेका छन्।

तर, प्रदेश प्रमुख खापुङले आज ५ बजेपछि मात्र निर्णय दिने उनका निजी सचिव नरेन्द्रकुमार श्रेष्ठले बताएका छन्। यसैले प्रदेश प्रमुख खापुङ यतिबेला दुईजनामध्ये कसलाई मुख्यमन्त्री बनाउनु कानुनसम्मत हुन्छ भन्ने विषयमा कानुनी परामर्शमा छन्।

‘पहिला माननीय इन्द्र आङ्बोको दाबी पेस भएको छ। पछि फेरि कार्कीले सशरीर उपस्थित गराएका ८ जना माननीयसहित ४७ जनाको हस्ताक्षर बुझाउनुभयो’, श्रेष्ठले भने, ‘प्रदेश प्रमुखज्यूले शुक्रबार छलफल गरेर निर्णय गर्छौँं भन्नुभएको छ।’

संविधानको उपधारा ५ मा जोसुकै सांसदले पनि बहुमत सांसद पुर्‍याउन सके आफ्नो नेतृत्वमा सरकार गठन गर्नसक्ने व्यवस्था छ। तर, आङ्बो र कार्की दुवैले बराबर सांसदको हस्ताक्षर पेस गरेपछि प्रदेश प्रमुख अन्योलमा परेका हुन्।

केही सांसदको दुवैतर्फ हस्ताक्षर भएको छ। यसका लागि उनले सबै सांसदलाई बोलाएर हस्ताक्षर सनाखत गराउन सक्नेछन्।

त्यसो नभएर राजनीतिक तहमा छलफल गरेर पनि एउटा निचोडमा पुग्न सक्नेछन्। तर, कांग्रेसकै सांसद कार्कीले पार्टीभित्र विद्रोह गरेकाले पार्टी केन्द्रको निर्णय कुर्नुपर्ने कांग्रेसका प्रवक्ता मीनबहादुर विश्वकर्माले बताए।

बिहीबार मात्र सत्तारुढ दलका शीर्ष नेताको बैठकले कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो।

निर्णयलगत्तै आङ्बोलाई मुख्यमन्त्रीको दाबी पेस गर्न सत्तारुढ दलका नेताले तयारी बढाएका थिए। सोही कुरा थाहा पाएपछि एमालेले कांग्रेसको शेखर कोइराला पक्षलाई समर्थन गरेको हो।

कोशी प्रदेशसभामा उपसभामुखसहित एमालेका ४० सांसद छन्।

यसअघि दुईपटक मुख्यमन्त्री बने पनि एमालेका हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो।

त्यही भएर यसपटक उपधारा ५ मा भने एमालेले कांग्रेसको एउटा पक्षलाई समर्थन गरेको छ। जसको असर केन्द्रसम्म पर्ने नेताहरू बताउँछन्।

तर, सबैभन्दा पहिला बहुमत सांसदसहित दाबी पेस गरेको भन्दै आङ्बो पक्ष आफ्ना हकमा सकारात्मक निर्णय हुने अपेक्षामा छ। उता कार्की सांसद नै स्वतन्त्र हुने भएकाले उपधारा ५ अनुसार आफूले पनि दाबी गरेको जिकिर गर्छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij