काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजवादीको आन्दोलनमा प्रतिबन्ध लगाउने संवैधानिक अधिकार सरकारसँग रहेको प्रतिक्रिया दिएका छन्।
बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले राजतन्त्रको पक्षमा आन्दोलन गरिरहेकाहरूलाई उदारतापूर्वक सरकारले सभासम्मेलन गर्न दिइएले त्यसलाई कमजोरीका रुपमा नलिन चेतावनीसमेत दिएका छन्।
‘हामीले उदारतापूर्वक संविधानको, स्थापित लोकतान्त्रिक मूल्यमान्यताको विरोध गर्ने र यो शासन उल्ट्याउन खोज्नेलाई पनि सभा संगठन गर्ने, बोल्ने छुट दिएकै छौं। त्यो हाम्रो कायरता र कमजोरी होइन। हामी डराएर गरेको होइन। त्यसरी दिँदा उनीहरूले हाम्रो कमजोरी नठाने हुन्छ। यो त हामीले उदारतापूर्वक अभ्यास गरुन न भनेर छुट दिएको कुरा हो,’ उनले भने
राजावादीहरूलाई सधै यस्तै खाले छुट दिन नसकिनेसमेत उनले चेतावनी दिएका छन्। संविधान विरोधी, जनता विरोधी, व्यवस्था विरोधी क्रियाकलाप गरिराखे सरकारका लागि सह्य नहुने उनको टिप्पणी छ।
आवश्यक परे राजावादीको कार्यक्रममा प्रतिबन्ध लगाउने संवैधानिक हक सरकारसँग भएको उनको दाबी छ। ‘सरकार सधै टुलुटुलु हेरेर बस्दैन, त्यसको यथोचित प्रतिवाद हुन्छ सरकारको तर्फबाट। उनीहरूले आन्दोलन गर्ने भनेको छ, हामीले आजको दिनसम्म प्रतिबन्ध लगाएका छैनौँ। प्रतिबन्ध पनि लगाउन सक्ने संवैधानिक, कानुनी अधिकार सरकारसँग छ,’ उनले भने।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij