काठमाडौँ- मधेस प्रदेश सरकारले इजरायलमा विद्रोही हमास समूहको आक्रमणमा परी ज्यान गुमाउने धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख राहत दिने भएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट नगद पाँच लाख राहत प्रदान गरिने जानकारी दिएका हुन्।
मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको संज्ञा दिएका छन्।
विज्ञप्तिमा भनिएको छ ‘त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ । असमयमा अनाहक ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij