एजेन्सी । गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने हमासले घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया दिएका छन् । उनले हमासलाई अल्टिमेटमसहितको चेतावनी दिएका छन् ।
ट्रम्पले हमासलाई शनिबार १२ बजेसम्म सबै बन्धकहरूलाई रिहा गर्न अल्टिमेटम दिएका छन् । गाजा युद्धविराम सम्झौताको भविष्यलाई लिएर आफ्नो तर्फबाट ट्रम्पले अल्टिमेटम दिएका हुन् ।
बीबीसीका अनुसार ट्रम्पले भनेका छन्, ‘यदि शनिबार १२ बजेसम्म सबै बन्धकहरूलाई रिहा गरिएन भने म भन्छु यो (युद्धविराम सम्झौता) रद्द गर्नुपर्छ । अब सबै मार्ग बन्द भइसकेको छ । जे हुने हो हवस् । मलाई लाग्छ यो पर्याप्त समय हो ।’
ट्रम्पले शनिबार मध्याह्न १२ बजे या राति १२ बजेको कुरा गरेका हुन् त्यो स्पष्ट भइनसकेको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । ट्रम्पले सबै बन्धकहरूलाई पटक-पटक गरेर होइन एक साथ छाडिने अपेक्षामा रहेको उल्लेख गरेका छन् ।
यस्तो भएन भने त्यसको परिणाम के हुन्छ भन्ने प्रश्नमा ट्रम्पले भनेका छन्- तपाईंले थाहा पाउनुहुनेछ र उनीहरूले पनि । हमासले थाहा पाउनेछ कि मेरो भनाइको अर्थ के हो ? यो मेरो निर्णय हो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij