२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

केही दिन तराईमा तातो हावा चल्ने, घरबाहिर ननिस्कन सुझाव

केही दिन तराईमा तातो हावा चल्ने, घरबाहिर ननिस्कन सुझाव

काठमाडौँ- देशभर तापक्रम बढेसँगै तराईमा तातो हावा चल्ने सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै आगामी पाँच दिनसम्म तराईमा तातो हावा चल्ने तथा लु लाग्ने सम्भावना देखिएको जानकारी दिएको हो।

‘आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने देखिन्छ’, बुलेटिनमा भनिएको छ, ‘तसर्थ, देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु (Heat wave) लाग्न सक्ने सम्भावना रहेकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

साथै पहाडी भेगका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले मौसम महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमान हेरिरहन अनुरोध गरिएको छ।

तातो हावा तथा लुबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने उल्लेख गर्दै महाशाखाले सोबाट बच्न निम्न उपाय अपनाउन अनुरोध गरेको छ।

तातो हावा तथा लुबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने।

महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराईमा मुख्यतया मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij