काठमाडौं : आईसीसी पुरुष विश्वकप २०२३ को पाँचौँ खेलमा आज घरेलु टोली भारतले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।
दुई उपाधि दावेदारबीचको भिडन्त चेन्नईको एम चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ।
पाँच पटकको ओडीआई विश्वकप विजेता अस्ट्रेलिया र दुई पटकको च्याम्पियन भारत जितसहित प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनासहित मौदान उत्रने छन्।
भारतका लागि शुभमन गिलको स्थानमा इशान किशनले कप्तान रोहित शर्मासँग ओपनिङ गर्न सक्ने छन्। शानदार लयमा रहेका गिल बिरामी भएपछि चिकित्सकको निगरानीमा छन्।
ह्यामस्ट्रिङक चोट बोकेका मार्कस स्टोइनिसको उपलब्धताको बारेमा अस्ट्रेलियाले कुनै जानकारी गराएको छ। दुवै टोलीमा विश्वस्तरीय ब्याटर, बलर र अन्तराउन्डरको बर्चस्व भएकाले खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान छ।
दुई देशबीच हालसम्म १ सय ४९ ओडीआई खेल खेलिएकोमा भारतले ५६ र अस्ट्रेलियाले ८३ खेल जितेको छ।
विश्वकपमा दुई देश १२ पटक आमनेसामने हुदाँ अस्ट्रेलियाले ८ खेल जित्दा भारत मात्र ४ खेलमा विजयी भएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij