स्थानीय प्रशासनले बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र दिनको समयमा निषेधाज्ञा र रातको समयमा कर्फ्यु आदेश जारी गरेको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले शुक्रबार बिहान एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ६ बजेदेखि नेपालगञ्ज नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको जनाएका छन्।
नगर क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने, हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।
शुक्रबार राति ८ बजेदेखि भोलि (शनिबार) बिहान ६ बजेसम्म भने नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ। गएराति ८ बजेदेखि आज बिहान ६ बजेसम्म पनि नेपालगञ्ज नगर क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो।
अहिले बिहान ६ बजेदेखि भने कर्फ्यु हटाएर निषेधाज्ञा मात्रै कायम गरिएको सीडीओ आचार्यले जानकारी दिए।
अब नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहनाकाको चार किल्लाभित्र दिनमा निषेधाज्ञा र रातको समयमा कर्फ्यु लगाइने जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ।
सामाजिक सञ्जालमा आएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीचको सद्भाव भड्किँदा बिहीबार नेपालगन्ज तनावग्रस्त बनेको थियो।
स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले नगर क्षेत्रमा निषेधाज्ञा र कर्फ्यु लगाएको हो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij