२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

सभापतिमा शेखरको दावी, सुदूरपश्चिमबाट अपार समर्थनको संकेत

सभापतिमा शेखरको दावी, सुदूरपश्चिमबाट अपार समर्थनको संकेत

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका नेता कोइराला उनै देउवाको ‘आधार क्षेत्र’ मानिने सुदूरपश्चिमको भ्रमण गरिरहेका छन्।

कोइरालाको यो भ्रमणमा सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्ताले ‘अभूतपूर्व’ स्वागत गरेको देखियो। किनकि, सुदूरपश्चिमका कार्यकर्ताले कोइरालालाई पन्ध्रौं महाधिवेशनमा सभापति बन्न अनुरोध गरे।

चौधौं महाधिवेशनको पहिलो चरणको निर्वाचनमा कोइरालाले देउवालाई ५० प्रतिशत भोट कटाउन दिएका थिएनन्। दोस्रोपटक निर्वाचन हुँदा कोइराला देउवासँग पराजित भए।

तर, कोइराला ४० प्रतिशत भोटसहित कांग्रेस राजनीतिमा ‘शक्तिशाली’ बनेर उदाए।

त्यसबेला देउवासँग पराजित भएका कोइराला अहिले पन्ध्रौं महाधिवेशनको तयारी गर्दै मैदानमा उत्रिएका छन्। कोइरालाको यो दौडधूप पन्ध्रौं महाधिवेशनमा पार्टीको सभापति बन्ने लक्ष्य नै हो।

त्यही सिलसिलामा कोइराला सुदूरपश्चिमको भ्रमणमा शुक्रबार निस्केका थिए। नेता कोइराला धनगढी पुग्दा देउवा र उनकी श्रीमती आरजुको ‘आधारभूमि’ मानिने धनगढीमा १५ किलोको माला लगाएर कांग्रेस नेता-कार्यकर्ताहरूले स्वागत गरे।

नेता कोइरालालाई धनगढीमा पन्ध्रौं महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना दिँदै नेता-कार्यकर्ताले १५ किलोको माला लगाइदिए। नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो। त्यो दृश्य आफैंमा देउवाको आधार क्षेत्रमा कोइरालाका निम्ति ‘अनपेक्षित’ थियो।

धनगढी विमानस्थल पुग्दा कोइरालालाई देउवाको गृहजिल्ला डडेल्धुराका नेता युवराज पाण्डेसहित डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।

माला लगाइदिने क्रममा डडेल्धुराका कांग्रेस नेता-कार्यकर्ताले कोइरालालाई पन्ध्रौं महाधिवेशनका लागि शुभकामना दिँदै उनको पक्षमा नारा लगाएका थिए।

स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला जिन्दावाद’, ‘सुदूरपश्चिमले के भन्छ, पन्ध्रौं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ’, भन्दै नारा लगाएका थिए।

साथै, कोइरालाको स्वागतका लागि सुदूरपश्चिमको थारू संस्कृति झल्कने पहिरनसहित नृत्य गरिएको थियो। स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो।

नेपाली कांग्रेसका सभापति देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ। कोइरालाको स्वागतमा बसेका सुदूरपश्चिमका एक कार्यकर्ताले यसपटक देउवा आउँदा भन्दा नेता कोइरालाको स्वागतमा सहभागिता बढी रहेको दाबी गरे।

कोइराला पुग्दा पार्टी सभापति देउवाको कार्यशैलीबाट वाक्कदिक्क भएका सुदूरपश्चिमेली नेता तथा कार्यकर्तामा निकै खुसी छाएको र पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेको नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेशबहादुर मल्लले बताए।

सुदूरपश्चिमको भ्रमण सिलसिलामा नेता कोइरालाले कांग्रेसका नेता-कार्यकर्ताहरूसँग पार्टीको आन्तरिक राजनीति र भावी योजनाबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij