काठमाडौं : १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई नेपालले २ सय १३ रनको लक्ष्य दिएको छ।
चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरे। पौडेलले २६ बलमा ५२ रन बनाए। कुशल भुर्तेल र गुल्सन झाले समान ३५ रन बनाउँदा कुशल मल्ल ४७ रनमा नटआउट रहे।
माल्दिभ्समाथि नेपाल सहज जित हात पार्दै क्वाटरफाइनलमा स्थान पक्का गर्ने योजनामा छ। विश्व कीर्तिमानहरुले भरिएको उद्घाटन खेलमा मंगोलियाविरुद्ध ३ सय १४ रन जोड्दै २ सय ७३ रनको जित हात पारेको नेपाल यसै लयलाई कायम गर्ने योजनाका साथ मैदान उत्रिएको छ। माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले पराजित गरेको थियो।
क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीले अघिल्लो चरणमा भारत, पकिस्तान, बंगलादेश, श्रीलंका वा अफगानिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। क्वाटरफाइनल खेलहरुको तालिका तय गर्न ‘ड्र’को आयोजना गरिनेछ।
एसियाडमै आज नेपालले आर्चरी, स्क्वास र एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दैछ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij